काठमाडौं ।प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गर्दै काठमाडौं, वीरगञ्ज, विराटनगरलगायत देशका सबै शहर, ग्रामीण क्षेत्रका गाउँ–गाउँ तथा विद्यालय–विद्यालयमा श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । यस पर्वलाई ‘श्रीपञ्चमी’ का नामले पनि चिनिन्छ ।
आजको दिन परम्पराअनुसार वसन्त श्रवण गरी वसन्त पञ्चमी मनाइने गरिन्छ । वसन्त श्रवणसँगै वसन्त ऋतुको आगमन भएको विश्वास गरिन्छ । सूर्य उत्तरायण हुँदै दिन लामो हुने र प्रकृतिमा नयाँ ऊर्जा सञ्चार हुने मान्यतासमेत यस पर्वसँग जोडिएको छ ।
हिन्दु धर्मावलम्बीहरूले विशेष रूपमा सरस्वती पूजा गरी यो पर्व मनाउने गर्छन् / शास्त्रअनुसार देवी सरस्वती श्वेत वस्त्रधारण गरेकी, चन्द्रमाजस्तो गोरो वर्ण भएकी, स्फटिक माला, पुस्तक र वीणा धारण गरेकी तथा अभय मुद्रामा विराजमान देवी हुन् । उनका स्वरूप, वाहन र हातमा रहेका प्रतीकहरूले ज्ञान, विवेक, वाणी र सिर्जनाको अर्थ बोकेको धार्मिक विश्वास छ । देवी सरस्वतीलाई भारती, शारदा, वागीश्वरी, हंसवाहिनी, बुद्धिदात्री, वरदायिनी, जगन्माता लगायत विभिन्न नामले पुकारिने गरिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले आजको दिन विशेषगरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकार तथा स्रष्टाहरूले आफ्ना अध्ययन–अध्यापन र सिर्जनासँग सम्बन्धित सामग्री—कलम, कापी, पुस्तक, कुची र वाद्ययन्त्रलाई सरस्वतीको प्रतीक मानी पूजा–आराधना गर्ने परम्परा रहेको छ ।
यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने (विद्यारम्भ), नाक–कान छेड्ने कार्य शुभ मानिने गरिन्छ । साथै विवाह, व्रतबन्ध, गुफा राख्ने तथा बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्यका लागि अलग्गै साइत हेर्नु नपर्ने धार्मिक मान्यता रहेको छ ।
सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या, बुद्धि र चेतनाको विकास हुने विश्वास गरिन्छ । आजका दिन देशभरका मठ–मन्दिर, विद्यालय, कलेज तथा शैक्षिक संस्थामा विद्यार्थीहरूको उल्लेख्य सहभागितासहित सरस्वती पूजा गरिँदैछ ।
ऋग्वेदमा वाग्देवीका रूपमा वर्णित देवी सरस्वती ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणी हुन् भन्ने उल्लेख पाइन्छ । आज सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ ।


टिप्पणी