पर्सा, ५ भदौ । पर्साको धोबिनी गाउँपालिका–५ मा आर्थिक अवस्था कमजोर रहेको एक असहाय परिवारकी छोरीको विवाहमा होप फर ह्युमानिटीले मानवीय सहयोग गरेको छ। विवाहको महत्वपूर्ण अवसरमा आवश्यक सामग्री उपलब्ध गराउँदै संस्थाले विपन्न परिवारको सुख–दुःखमा साथ दिने आफ्नो प्रतिबद्धता दोहोर्याएको हो।
संस्थाका अनुसार विवाह समारोहका लागि नास्ता, खाना, भाँडाकुँडा लगायत आवश्यक सामग्री सहयोग गरिएको छ। सहयोग पाएपछि विवाहको तयारीमा रहेको परिवारलाई राहत मिलेको र परिवारका सदस्यहरूमा खुसी थपिएको जनाइएको छ।
सहयोग हस्तान्तरण तथा व्यवस्थापनका क्रममा संस्थाका अध्यक्ष अबुलैश अन्सारी र प्रोजेक्ट म्यानेजर ताहिर अन्सारी स्वयं उपस्थित भएका थिए। उनीहरूले असहाय तथा विपन्न परिवारलाई आवश्यक परेको समयमा सहयोग गर्नु संस्थाको प्रमुख उद्देश्य रहेको बताए।
संस्थाले सहयोग कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण डोनर तथा दाता महानुभावहरूप्रति आभार व्यक्त गरेको छ। दाताहरूको सहयोगले परिवारको जीवनको महत्वपूर्ण दिनलाई थप खुसीमय बनाउन योगदान पुगेको संस्थाको भनाइ छ।
संस्थापक इलियास अन्सारीले आर्थिक अवस्था कमजोर भएका परिवारको सुख–दुःखमा साथ दिन संस्था निरन्तर सक्रिय रहने बताए। समाजमा सानो सहयोगले पनि कसैको जीवनमा ठूलो खुसी ल्याउन सक्ने उल्लेख गर्दै उनले “सानो सहयोग, ठूलो खुसी। मानव सेवा नै हाम्रो प्रमुख उद्देश्य हो” भने।
होप फर ह्युमानिटीले आगामी दिनमा पनि विपन्न, असहाय तथा आवश्यकतामा रहेका परिवारलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, खाद्यान्न तथा सामाजिक सेवाका विभिन्न क्षेत्रमा सहयोगलाई निरन्तरता दिने जनाएको छ।


टिप्पणी