2026, October 25 Sunday
०६:००:१३ बिहान

Latest Posts

English

Latest Posts

धोबिनीमा ‘होप फर ह्युम्यानिटी’द्वारा निःशुल्क ट्युसन कक्षा सञ्चालन

कक्षा १ देखि ५ सम्मका ४३ भन्दा बढी बालबालिका पहिलो दिनमै सहभागी, शिक्षाबाट वञ्चित बालबालिकालाई सहयोग गर्ने लक्ष्य

AI सारांश
Summary by AI
  • धोबिनी गाउँपालिका–५, नौकाटोलामा होप फर ह्युम्यानिटीले कक्षा १ देखि ५ सम्मका बालबालिकाका लागि ट्युसन कक्षा सञ्चालन गरेको छ।
  • सबनम खातुनको शिक्षण जिम्मेवारीमा सुरु भएको कक्षामा पहिलो दिन उत्साहजनक सहभागिता देखिएको छ।
  • आर्थिक रूपमा कमजोर तथा पिछडिएका समुदायका बालबालिकाको सिकाइ सुधार र शिक्षामा पहुँच बढाउनु कार्यक्रमको उद्देश्य हो।
२०८३ कार्तिक ७, शुक्रबार १३:१४

पर्सा। पर्साको धोबिनी गाउँपालिका–५, नौकाटोलामा ‘होप फर ह्युम्यानिटी’ संस्थाले बालबालिकाको शैक्षिक विकासलाई लक्षित गर्दै निःशुल्क ट्युसन कक्षा सञ्चालनमा ल्याएको छ। कक्षा १ देखि ५ सम्म अध्ययनरत बालबालिकालाई लक्षित गरी सुरु गरिएको उक्त कार्यक्रम निरन्तर सञ्चालन गरिने संस्थाले जनाएको छ।

बालबालिकालाई गुणस्तरीय शिक्षामा पहुँच पुर्‍याउने, विद्यालयको पढाइमा सहयोग गर्ने तथा आर्थिक र अन्य कारणले शिक्षाबाट वञ्चित हुन सक्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो। ट्युसन कक्षामा सबनम खातुनले शिक्षिकाका रूपमा जिम्मेवारी सम्हालेकी छन्।

कक्षा सञ्चालनको पहिलो दिनमै ४३ जनाभन्दा बढी बालबालिकाको सहभागिता रहेको थियो। आगामी दिनमा विद्यार्थीको सङ्ख्या थप बढ्दै जाने अपेक्षा संस्थाले गरेको छ। ग्रामीण तथा पिछडिएका समुदायका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन यो कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको छ।

कार्यक्रमको अध्यक्षता संस्थाका विशिष्ट सल्लाहकार तैयाब अंसारीले गरेका थिए। कार्यक्रममा संस्थाका प्रोजेक्ट म्यानेजर ताहिर अंसारी, प्रमुख सल्लाहकार अशोक पटेल, कोषाध्यक्ष सजाद अंसारी, सचिव मुस्ताक अंसारी, वडा अध्यक्ष मनौवर अहमद, ललन पटेल, सेखावत अंसारी र ताहिर आलमलगायतको उपस्थिति रहेको थियो। उक्त जानकारी संस्थाका सचिव मोहम्मद मुस्ताक अंसारीले दिएका हुन्।

संस्थाका संस्थापक इलियास अंसारीले गाउँ–टोलका कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ निःशुल्क ट्युसन कार्यक्रम सुरु गरिएको बताए।

“शिक्षा प्रत्येक बालबालिकाको आधारभूत अधिकार हो। आर्थिक अवस्था कमजोर भएका वा विभिन्न कारणले पढाइमा आवश्यक सहयोग पाउन नसकेका बालबालिकालाई समेत शिक्षाको अवसर उपलब्ध गराउनु हाम्रो मुख्य उद्देश्य हो। गाउँका बालबालिकाले पनि गुणस्तरीय शिक्षा प्राप्त गर्न सकून् र आफ्नो भविष्य उज्ज्वल बनाउन सकून् भन्ने हाम्रो चाहना छ,” उनले भने।

उनका अनुसार बालबालिकाको शैक्षिक स्तर सुधार गर्न विद्यालयको नियमित पढाइसँगै अतिरिक्त शैक्षिक सहयोग पनि आवश्यक हुन्छ। विद्यार्थीमा नियमित अध्ययन गर्ने बानीको विकास गराउने, पढाइप्रति रुचि बढाउने र सिकाइका क्रममा देखिएका कमजोरी सुधार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उनले बताए।

संस्थापक अंसारीले आजका बालबालिका भोलिका देशका कर्णधार भएको उल्लेख गर्दै उनीहरूलाई सही समयमा शिक्षा र आवश्यक मार्गदर्शन दिन सके सक्षम, आत्मनिर्भर तथा जिम्मेवार नागरिक बनाउन सकिने बताए। उनले बालबालिकाको शैक्षिक विकासका लागि आगामी दिनमा पनि सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।

टिप्पणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *