2026, October 25 Sunday
०६:००:१३ बिहान

Latest Posts

English

Latest Posts

पटेर्वा सुगौलीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया, चाडपर्वमा शान्ति सुरक्षा कायम गर्ने प्रतिबद्धता

लागूऔषध नियन्त्रणदेखि तस्करी रोकथामसम्मका विषयमा जनप्रतिनिधि र सरोकारवालाको ध्यानाकर्षण, प्रहरी निरीक्षक विपन कार्कीले निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता जनाए

AI सारांश
Summary by AI
  • पटेर्वा सुगौलीमा प्रहरी, जनप्रतिनिधि, पत्रकार तथा स्थानीय सरोकारवालाबीच सुरक्षा सम्बन्धी छलफल सम्पन्न।
  • लागूऔषध नियन्त्रण, निष्पक्ष अनुसन्धान, तस्करी रोकथाम, मदिरा पसलको निगरानी र प्रहरी सेवा सहज बनाउन जोड।
  • प्रहरी निरीक्षक विपन कार्कीले नागरिकसँग निरन्तर संवाद गर्ने, गुनासा सम्बोधन गर्ने र कानुनअनुसार निष्पक्ष काम गर्ने बताए।
२०८३ आश्विन २८, बुधबार ०६:३४

पर्सा । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पर्साको पटेर्वा सुगौलीस्थित इलाका प्रहरी कार्यालयको प्राङ्गणमा सुरक्षा सम्बन्धी एकदिने अन्तरक्रिया तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

प्रहरी निरीक्षक विपन कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिकाका वडा अध्यक्षहरू फरमान मिया अन्सारी र विजय गैरे, सखुवा प्रसौनी गाउँपालिकाका वडा अध्यक्ष चिरञ्जीवी महतो तथा जिराभवानी गाउँपालिकाका वडा अध्यक्षहरू महादेव महतो र रामसरण खवासको आतिथ्यता रहेको थियो।

कार्यक्रममा शिक्षक नेता हरिराज यादव, महेन्द्र चौधरी, मोतिलाल चौधरी, नेपाल पत्रकार महासंघ पर्साका सदस्य प्रमोद यादव, बलिराम शुक्ग्राला ,मिण टिभी अध्यक्ष तथा कार्यकारी सम्पादक नवल किशोर राउत ( नवल यादव ) , बिनोद यादव , चिरन्जिबी यादव  तथा  विभिन्न सञ्चारमाध्यममा कार्यरत स्थानीय पत्रकार, समाजसेवी, राजनीतिक दलका अगुवा तथा जनप्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले बडादसैँ, शुभ दीपावली तथा छठ पर्वले सबैमा आपसी सद्भाव, भाइचारा र सामाजिक एकता बलियो बनाओस् भन्ने कामना गर्दै शुभकामना व्यक्त गरेका थिए। उनीहरूले प्रहरी निरीक्षक कार्कीको सफल कार्यकालको कामना गर्दै स्थानीय क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न प्रहरी र नागरिकबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

लागूऔषध नियन्त्रणदेखि तस्करी रोकथामसम्मका विषय उठाइए

अन्तरक्रियाका क्रममा स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूले क्षेत्रको शान्ति सुरक्षा र समसामयिक अवस्थाबारे प्रहरीको ध्यानाकर्षण गराएका थिए। उनीहरूले बिना हेल्मेट सवारी चलाउने प्रवृत्ति नियन्त्रण गर्न, विद्यार्थी तथा युवामा बढ्दो लागूऔषध सेवन रोक्न र लागूऔषधसँग सम्बन्धित चोरी, झैझगडा तथा महिला हिंसाजस्ता अपराध नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेका थिए।

त्यसैगरी, विगतमा राजनीतिक प्रभावका कारण अनुसन्धान प्रभावित हुने गरेको विषय उठाउँदै उनीहरूले कुनै पनि घटनामा राजनीतिक दबाबबाट मुक्त भएर सत्यतथ्यका आधारमा निष्पक्ष अनुसन्धान गर्नुपर्नेमा जोड दिएका थिए।

वास्तविक किसानको पहिचान गरी भारतबाट रासायनिक मल तथा घरायसी उपभोगका सामग्री ल्याउँदा सहज वातावरण बनाउनुपर्ने, प्रहरीमा परेका निवेदनमाथि तत्काल निष्पक्ष छानबिन गर्नुपर्ने तथा अबेर रातिसम्म सञ्चालन हुने मदिरा पसललाई नियन्त्रण गर्नुपर्ने मागसमेत सहभागीहरूले राखेका थिए।

अन्तरक्रियामा गाँजा, चरेस, काठ, गिट्टी–बालुवा तथा सीमापारबाट हुने अवैध ओसारपसार र तस्करी नियन्त्रण गर्नुपर्ने विषय पनि उठाइएको थियो। नागरिकलाई आवश्यक परेको समयमा प्रहरीसँग सम्पर्क गर्न सहज होस् भन्ने उद्देश्यले प्रहरीको टेलिफोन सेवा २४ सै घण्टा उपलब्ध हुनुपर्ने सुझावसमेत दिइएको थियो।

प्रहरीलाई सहयोग गर्ने जनप्रतिनिधिको प्रतिबद्धता

कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिकाका वडा अध्यक्षहरू फरमान मिया अन्सारी र विजय गैरेले स्थानीय क्षेत्रमा शान्ति सुरक्षा तथा सुव्यवस्था कायम गर्न जनप्रतिनिधिका रूपमा प्रहरीलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

स्थानीय नागरिक तथा सरोकारवालाहरूले उठाएका गुनासा र सुझावलाई सम्बोधन गर्दै प्रहरी निरीक्षक विपन कार्कीले नागरिकसँग निरन्तर संवाद गर्ने र उनीहरूका गुनासा तथा समस्याहरू संकलन गरी समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए।

उनले शान्ति सुरक्षाको विषयमा तथा अवैध कारोबारमा संलग्न व्यक्तिहरूसँग कुनै पनि हालतमा सम्झौता नगर्ने स्पष्ट पारे। कानुन र सत्यतथ्यका आधारमा निष्पक्ष रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले प्रहरीको सही कार्यमा सहयोग गर्न स्थानीयवासीलाई आग्रह गरे।

चाडपर्वको समयमा मात्र नभई अन्य समयमा पनि शान्ति सुरक्षा कायम राख्न प्रहरी अहोरात्र खटिने र नागरिकलाई सुरक्षाको अनुभूति दिलाउन प्रतिबद्ध रहने उनले बताए। साथै, उनले सबैलाई बडादसैँ, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमले स्थानीय क्षेत्रमा देखिएका सुरक्षा चुनौती, नागरिकका गुनासा तथा समाधानका उपायबारे प्रहरी, जनप्रतिनिधि र सरोकारवालाबीच छलफल गर्ने अवसर प्रदान गरेको छ।

टिप्पणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *