2026, July 28 Tuesday
०१:४४:३६ बेलुका

Latest Posts

English

Latest Posts

धोबिनीमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न, Hope for Humanity को सामाजिक अभियान शुभारम्भ

युवापुस्तालाई कुलतबाट जोगाउँदै शिक्षा, सीप, अनुशासन र सकारात्मक जीवनशैलीतर्फ प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना।

AI सारांश
Summary by AI
  • Hope for Humanity Organization ले पर्साको धोबिनीमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम आयोजना गर्दै आफ्नो औपचारिक सामाजिक अभियानको शुभारम्भ गरेको छ।
  • कार्यक्रममा विज्ञ तथा वक्ताहरूले युवापुस्तालाई लागुऔषधबाट टाढा राख्न शिक्षा, नैतिकता, पारिवारिक अनुशासन, खेलकुद र सकारात्मक गतिविधिमा संलग्न गराउनुपर्नेमा जोड दिएका छन्।
  • संस्थाले आगामी दिनमा लागुऔषध दुर्व्यसन, बालविवाह, घरेलु हिंसा, अशिक्षा तथा सामाजिक विकृतिविरुद्ध जनचेतनामूलक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
२०८३ श्रावण २, शनिबार १५:३४

पर्सा, साउन २ । पर्साको धोबिनी गाउँपालिका–५ स्थित श्री अजिज मियाँ माध्यमिक विद्यालयमा Hope for Humanity Organization को आयोजनामा “लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम” भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ। संस्थाका सचिव एमडी मुस्ताक अन्सारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमसँगै संस्थाले आफ्नो औपचारिक सामाजिक अभियानको समेत शुभारम्भ गरेको छ।

मधेस प्रदेशसहित देशका विभिन्न ग्रामीण क्षेत्रमा पछिल्लो समय किशोर–किशोरी तथा युवाहरू लागुऔषध दुर्व्यसनतर्फ आकर्षित हुने क्रम बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै समाजमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा युवापुस्तालाई लागुऔषधबाट टाढा राख्दै शिक्षा, अनुशासन, नैतिक मूल्य, सकारात्मक सोच तथा सामाजिक जिम्मेवारीतर्फ प्रेरित गर्नुपर्नेमा विशेष जोड दिइएको थियो।

कार्यक्रम बिहान १० बजेदेखि सुरु भएको थियो। आस्था नेपालका प्रशिक्षक अफताब खानले लागुऔषध दुर्व्यसनविरुद्ध प्रशिक्षण प्रदान गर्दै लागुऔषध सेवनका कारण व्यक्ति, परिवार र समाजमा पर्ने शारीरिक, मानसिक, आर्थिक तथा सामाजिक असरबारे विस्तृत जानकारी दिएका थिए। उनले यसको रोकथामका उपाय, युवाहरूको भूमिका तथा समयमै सचेत हुनुपर्ने आवश्यकताबारे प्रकाश पार्दै युवाहरूलाई गलत संगतबाट टाढा रही शिक्षा, सीप, खेलकुद तथा सकारात्मक गतिविधिमा संलग्न हुन आग्रह गरे।

कार्यक्रमका प्रमुख अतिथि मुनव्वर अहमदले रिबन काटेर उद्घाटन गरेका थिए। त्यसपछि प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूद्वारा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको थियो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा मुफ्ती शफिक अहमद, सुरेश शाह, सलाउद्दिन अहमद, सशस्त्र प्रहरी बल नेपाल भिस्वा बीओपीका इन्स्पेक्टर अर्जुन दाहाल, मुफ्ती जहूर अहमदलगायतको उपस्थिति रहेको थियो। साथै विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक, स्थानीयवासी, समाजसेवी, Hope for Humanity Organization का पदाधिकारी तथा सदस्य, ग्रामीण टिभीका अध्यक्ष तथा कार्यकारी सम्पादक नवल किशोर राउत, सञ्चालक विनोद यादव तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुनव्वर अहमदले लागुऔषध दुर्व्यसन आजको समाजको गम्भीर सामाजिक चुनौती बनेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि परिवार, विद्यालय, धार्मिक संस्था, सुरक्षा निकाय, सञ्चारमाध्यम तथा सम्पूर्ण समाज एकजुट हुनुपर्ने बताए। उनले युवाहरूलाई आफ्नो समय शिक्षा, सीप विकास, खेलकुद तथा रचनात्मक कार्यमा लगानी गर्न आग्रह गर्दै लागुऔषधले व्यक्तिको भविष्य मात्र नभई परिवार र समाजलाई समेत नकारात्मक असर पार्ने धारणा राखे।

मुफ्ती शफिक अहमदले नैतिक शिक्षा, धार्मिक संस्कार र पारिवारिक अनुशासनले युवालाई कुलतबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले अभिभावकले आफ्ना बालबालिकाको गतिविधिप्रति विशेष निगरानी राख्नुपर्नेमा जोड दिए। यस्तै, मुफ्ती जहूर अहमदले लागुऔषधले स्वास्थ्य, भविष्य र समाजमा दीर्घकालीन नकारात्मक असर पार्ने भएकाले समयमै सचेत भएर यसको विरुद्ध अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।

सशस्त्र प्रहरी बल नेपालका इन्स्पेक्टर अर्जुन दाहालले विद्यालयस्तरमा यस्ता जनचेतनामूलक कार्यक्रमको महत्व उल्लेख गर्दै Hope for Humanity Organization ले थालेको अभियानको प्रशंसा गरे। उनले यस्ता कार्यक्रम विद्यालयमा मात्र सीमित नराखी गाउँ–गाउँ र टोल–टोलसम्म विस्तार गर्दै सडक नाटक, जनसंवाद, अभिभावक अन्तरक्रिया तथा समुदायस्तरीय अभियान सञ्चालन गर्न सुझाव दिए।

संस्थाका सचिव तथा कार्यक्रमका अध्यक्ष एमडी मुस्ताक अन्सारीले Hope for Humanity Organization को स्थापना समाजसेवा, शिक्षा, स्वास्थ्य, युवा सशक्तीकरण, मानव सेवा तथा लागुऔषधमुक्त समाज निर्माणको उद्देश्यले गरिएको जानकारी दिए। उनले आगामी दिनमा लागुऔषध दुर्व्यसन, बालविवाह, घरेलु हिंसा, अशिक्षा, सामाजिक विकृति–विसंगति तथा युवाको क्षमता विकासका क्षेत्रमा निरन्तर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए।

सो अवसरमा संस्थाका पदाधिकारी तथा सदस्यहरूलाई परिचयपत्र (आईडी कार्ड) र प्रमाणपत्र वितरण गरिएको थियो। संस्थाको पहिलो औपचारिक कार्यक्रमकै अवसरमा पदाधिकारीहरूलाई जिम्मेवारीसहित परिचयपत्र प्रदान गर्दै समाज सेवामा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको थियो।

कार्यक्रममा सहभागी शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीहरूले यस्ता कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै विद्यालय तथा समुदायस्तरमा नियमित रूपमा सञ्चालन गर्न आग्रह गरेका थिए। सहभागी विद्यार्थीहरूले पनि लागुऔषधबाट टाढा रहने, आफ्ना साथीभाइलाई सचेत गराउने तथा सकारात्मक जीवनशैली अपनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमको समापनमा आयोजक संस्थाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, विशिष्ट अतिथि, सुरक्षा निकाय, विद्यालय परिवार, सञ्चारकर्मी, स्वयंसेवक तथा सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गरेको छ। साथै संस्थाले शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, मानव अधिकार, युवा सशक्तीकरण तथा लागुऔषध दुर्व्यसनविरुद्धका अभियानलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा विभिन्न समुदायसम्म विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।

टिप्पणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *