कैलाली । हेल्मेट नलगाई मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्।
मुख्यमन्त्री शाहले आफ्नै सरकारी निवास परिसरमा हेल्मेटबिना बुलेट मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यसको व्यापक चर्चा र आलोचना भएको थियो। त्यसलगत्तै ट्राफिक प्रहरी मुख्यमन्त्री निवासमै पुगेर कानुनअनुसार कारबाहीस्वरूप चिट काटेको हो।
ट्राफिक प्रहरीले ‘हेल्मेट नलगाई सवारी चलाएको’ कसुरमा मुख्यमन्त्री शाहलाई ५०० रुपैयाँ जरिवाना गरिएको जनाएको छ।
पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री शाहले आफूबाट ट्राफिक नियम उल्लङ्घन भएको स्वीकार गर्दै कानुनअनुसार कारबाही गर्न आफूले नै ट्राफिक प्रहरीलाई आग्रह गरेको बताए।
उनले भने, “म ट्राफिक प्रहरीलाई धन्यवाद दिन्छु। कानुन सबैका लागि समान हुनुपर्छ। ठूला व्यक्तिलाई कानुन नलाग्ने भन्ने हुँदैन। कानुनले गरेको व्यवस्था अनुसार सबैले कारबाही भोग्नुपर्छ।”
मुख्यमन्त्री शाहले पद वा हैसियतका आधारमा कानुन कार्यान्वयनमा कुनै प्रकारको भेदभाव हुन नहुने उल्लेख गर्दै सम्पूर्ण नागरिकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेका छन्।
मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले आफ्नो टिकटकमार्फत शाहले हेल्मेटबिना मोटरसाइकल चलाएको भिडियो सार्वजनिक गरेका थिए। केही समययता वैशाखीको सहारामा हिँडिरहेका मुख्यमन्त्री साँझ मोटरसाइकल चलाएको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया र टिप्पणीहरू आएका थिए।


टिप्पणी