पर्साको जगरनाथपुर गाउँपालिका ले आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाका अनुसार मधेश प्रदेशमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने पहिलो स्थानीय तह बनेको छ ।
गाउँपालिका वडा नं. ५ स्थित कृषि तथा पशुपन्छी सेवा केन्द्रको सभा हलमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव ले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी वर्ष पनि शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन् ।
अध्यक्ष यादवले सहुलियत दरमा पालिका औषधि पसल सञ्चालन, औराहा स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा विस्तार तथा ‘खाल्डामुक्त पालिका अभियान’ अन्तर्गत सडक एम्बुलेन्स सञ्चालन जस्ता नयाँ कार्यक्रम समावेश गरिएको जानकारी दिए ।
उनका अनुसार सामुदायिक स्वास्थ्य सेवा सञ्चालन, गरिब तथा दलित बस्ती र टोलमा निःशुल्क ट्युसन कक्षा, अनलाइन कोचिङ कार्यक्रम, सामुदायिक विद्यालयमा ई–हाजिरी प्रणाली तथा कृषकलाई ५० प्रतिशत अनुदानमा बीउबिजन र सिँचाइका लागि मोटर वितरण कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइनेछ ।
गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह ले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि प्रयोगशाला सञ्चालन तथा गाउँपालिकाको आफ्नै भवनबाट एकद्वार प्रणालीमार्फत सेवा प्रवाह गर्ने योजना पनि समावेश गरिएको बताइन् ।
अध्यक्ष यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव, वडाध्यक्षहरू लक्ष्मी साह तेली, नेपाली प्रसाद कुशवाहा, सुभाष कुमार यादव, प्रभु प्रसाद नुनिया, विहारी महतो नुनिया तथा अयोध्या प्रसाद पटेल लगायत गाउँसभा सदस्य र कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य संयोजक प्रभेन्द्र साह ले गरेका थिए ।


टिप्पणी