2026, June 03 Wednesday
०२:२६:४७ बेलुका

Latest Posts

English

Latest Posts

महासंघ पर्साद्वारा तालाबन्दीको विरोध, संस्थागत गरिमामाथि आघात भएको दाबी

सदस्यता शुद्धीकरणको नाममा गरिएको गतिविधिप्रति शाखाको गम्भीर आपत्ति

AI सारांश
Summary by AI
  • नेपाल पत्रकार महासंघ पर्साले शाखा कार्यालयमा गरिएको तालाबन्दीप्रति गम्भीर आपत्ति जनाएको छ ।
  • महासंघले सदस्यता शुद्धीकरण प्रक्रिया विधि, विधान र सहमतिका आधारमा मात्रै अघि बढ्ने स्पष्ट पारेको छ ।
  • आवश्यक कागजात नबुझाई तालाबन्दी गरिएको भन्दै महासंघले कानुनी कदम चाल्न सकिने चेतावनी दिएको छ ।
२०८३ जेष्ठ १५, शुक्रबार १३:५७

नेपाल पत्रकार महासंघ पर्सा शाखाले शाखा कार्यालयमा गरिएको तालाबन्दीप्रति गम्भीर आपत्ति जनाएको छ । शाखाले शुक्रबार सचिव विजय महतो द्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति जारी गर्दै ‘सदस्यता शुद्धीकरण संघर्ष समिति’को नाममा गरिएको गतिविधिले संस्थाको गरिमा, पत्रकारहरूको एकता तथा पर्सेली पत्रकारिताको साखमाथि प्रत्यक्ष आघात पुगेको जनाएको हो ।

विज्ञप्तिमा महासंघ पर्सा शाखा कुनै व्यक्ति वा समूह विशेषको संस्था नभई सम्पूर्ण सञ्चारकर्मीहरूको साझा संस्था भएको उल्लेख गरिएको छ । सार्वजनिक बिदाको दिन कार्यालय बन्द रहेको अवस्थामा कुनै औपचारिक जानकारीबिनै तालाबन्दी गर्नु दुःखद, आपत्तिजनक तथा गैरजिम्मेवार कदम भएको शाखाको भनाइ छ ।

महासंघले सदस्यता शुद्धीकरणको विषयमा आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्दै शुद्धीकरण प्रक्रिया व्यक्तिगत आग्रह, दबाब वा आवेगका आधारमा नभई संस्थाको विधि, विधान, विगतका निर्णय तथा सहमतिका आधारमा अघि बढ्नुपर्ने जनाएको छ ।

विज्ञप्तिअनुसार शाखा नेतृत्वले तत्कालीन अध्यक्ष अनुप तिवारी लाई २०८३ जेठ ७ गते औपचारिक पत्राचार गर्दै तीन दिनभित्र निर्णय पुस्तिका, सदस्यता अभिलेख तथा आर्थिक हरहिसाब बुझाउन आग्रह गरेको थियो । तर आवश्यक कागजात उपलब्ध गराउनुको सट्टा उनकै नेतृत्वमा शाखा कार्यालयमा तालाबन्दी गरिएको भन्दै महासंघले यस घटनाले नियतमाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरेको छ ।

शाखाले हाल कायम सदस्यता निवर्तमान नेतृत्वकै कार्यकालमा कायम भएको तथा सोही सदस्यहरूको मताधिकारबाट नयाँ नेतृत्व चयन भइसकेको अवस्थामा समेत निर्णय पुस्तिका, आर्थिक विवरण र अभिलेख हस्तान्तरण नगरिनु चिन्ताजनक भएको जनाएको छ । साथै साधारणसभा गर्ने तयारी भइरहेका बेला त्यसलाई प्रभावित पार्ने गतिविधि हुनु थप शंकास्पद देखिएको विज्ञप्तिमा उल्लेख छ ।

महासंघका अनुसार कार्यसमितिको पदस्थापनकै दिन निर्णय पुस्तिका हस्तान्तरण नगरिनु, पटक–पटक आग्रह गर्दा बेवास्ता गरिनु, ३० दिनभित्र हरहिसाब बुझाउने निर्णय कार्यान्वयन नगर्नु तथा बैठकहरूमा अवरोध सिर्जना हुनुजस्ता गतिविधिले संस्थालाई अन्योल र असहजतातर्फ धकेल्ने प्रयास भइरहेको देखिन्छ ।

महासंघले निर्णय पुस्तिका, आर्थिक हरहिसाबलगायत सम्पूर्ण अभिलेख तत्काल शाखालाई बुझाई सदस्यता शुद्धीकरण प्रक्रियामा सहयोग गर्न तथा शाखा कार्यालयमा लगाइएको तालाबन्दी अविलम्ब खोल्न पुनः आग्रह गरेको छ ।

शाखाले आफू सधैं संवाद, सहकार्य र संस्थाको हितमा प्रतिबद्ध रहेको जनाउँदै संस्थाको गरिमा, पत्रकारहरूको साझा प्रतिष्ठा तथा कानुनी अधिकारमाथि निरन्तर प्रहार भइरहे आवश्यक कानुनी उपचारको बाटो रोज्न बाध्य हुने चेतावनीसमेत दिएको छ ।

टिप्पणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *