2026, April 18 Saturday
१२:४४:०७ बेलुका

Latest Posts

English

Latest Posts

सरके चुनर’ गीतमाथि प्रतिबन्ध, संसदसम्म पुगे विवाद

अश्लीलताको आरोपपछि धार्मिक र सरकारी स्तरमा कडा प्रतिक्रिया

AI सारांश
Summary by AI
  • नोरा फतेहीको गीतमाथि अश्लीलताको आरोप लाग्दै ठूलो विवाद भएको छ।
  • मुस्लिम धार्मिक संस्थाले फतवा जारी गर्दै गीतलाई इस्लाम विरोधी भनेको छ।
  • भारत सरकारले गीतमाथि प्रतिबन्ध लगाएको छ र विभिन्न निकायले अनुसन्धान थालेका छन्।
२०८२ चैत्र ७, शनिबार ११:३३

मुम्बई, चैत ७— बलिउडकी चर्चित डान्सर तथा अभिनेत्री नोरा फतेही आफ्नो नयाँ फिल्म ‘केडी: द डेविल’ को गीत ‘सरके चुनर तेरी सरके’ का कारण गम्भीर विवादमा तानिएकी छिन्।

गीतमा अश्लीलता भएको आरोप लागेपछि भारतमा यसको व्यापक विरोध भइरहेको छ। यसबीच उत्तर प्रदेशको अलीगढस्थित मुस्लिम पर्सनल दारुल इफ्ताले नोरा फतेहीविरुद्ध फतवा जारी गर्दै उक्त गीतलाई इस्लाम विरोधी र समाजका लागि हानिकारक भनेको छ।

शाही चिफ मुफ्ती मौलाना चौधरी इब्राहिम हुसैनद्वारा जारी गरिएको फतवामा इस्लामले शालीनता र नैतिक आचरणमा जोड दिने उल्लेख गर्दै यस्ता गीत, नृत्य तथा दृश्यमा संलग्न हुनु हराम र गम्भीर पाप भएको बताइएको छ।

संस्थाले यस्ता सामग्री निर्माण गर्नेहरूलाई कडा कारबाही गर्न सरकारसँग माग गर्दै सर्वसाधारणलाई पनि बहिष्कार गर्न आह्वान गरेको छ।

विवाद चर्किएपछि नोरा फतेहीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आफूलाई उक्त हिन्दी संस्करणको अश्लील सामग्रीबारे जानकारी नभएको दाबी गरेकी छिन्। उनले उक्त गीत तीन वर्षअघि कन्नड भाषामा छायांकन गरेको र त्यसबेला कुनै आपत्तिजनक कुरा नभएको बताएकी छिन्।

उनले भिडियोका केही दृश्यहरू एआई प्रविधिबाट परिवर्तन गरिएको गम्भीर आरोप समेत लगाएकी छिन्।

यो विवाद भारतको संसदसम्म पुगेको छ। समाजवादी पार्टीका नेता आनन्द भदोरियाले संसदमा यो विषय उठाएका थिए। त्यसपछि सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले सरकार समाज र बालबालिकाको सुरक्षामा प्रतिबद्ध रहेको बताउँदै विवादित गीतमाथि प्रतिबन्ध लगाइएको र युट्युबबाट हटाइएको जानकारी दिएका छन्।

यसैबीच राष्ट्रिय महिला आयोगले पहिले नै नोटिस जारी गरिसकेको अवस्थामा राष्ट्रिय मानवअधिकार आयोगले पनि सेन्सर बोर्ड, गुगल इन्डिया र सूचना प्रविधि मन्त्रालयसँग स्पष्टीकरण माग गरेको छ।

टिप्पणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *