बारा, ८ कात्तिक। बाराको सुवर्ण गाउँपालिकाका विभिन्न बस्तीमा चोरीका घटना बढ्दै गएको भन्दै स्थानीय युवा इन्जिनियर सुनिल कुमार यादवले नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न स्थानीय सरकार र प्रशासनसँग माग गरेका छन्।
सुवर्ण गाउँपालिकाको हर्दिया, चरमोहना, गोठगाउँ र पचगछियालगायतका स्थानमा घरको पर्खाल तथा भित्ता फोडेर लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको घटनाप्रति चिन्ता व्यक्त गर्दै यादवले नागरिकलाई आश्वासनभन्दा पनि सुरक्षाको प्रत्याभूति आवश्यक रहेको बताएका छन्।
उनले चोरीको हल्ला र आशंकाका आधारमा औरैयामा दलित समुदायका व्यक्तिमाथि भएको भनिएको कुटपिटको घटनाको समेत भर्त्सना गरेका छन्। कुनै पनि व्यक्तिलाई शंका वा आरोपकै आधारमा कुटपिट गर्नु गलत भएको उल्लेख गर्दै उनले कानुन हातमा लिने प्रवृत्ति रोक्न सम्बन्धित निकायसँग माग गरेका छन्।
यादवले नागरिकको सुरक्षा सुनिश्चित गर्न गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताएका छन्। उनले सीमावर्ती संवेदनशील नाका, नहर सडक तथा मुख्य बजार क्षेत्रमा सीसीटीभी क्यामेरा र सडकबत्ती जडान गर्नुपर्ने माग राखेका छन्।
त्यसैगरी, चोरी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरी नियमित रात्रि गस्तीको व्यवस्था गर्न उनले आग्रह गरेका छन्।
यादवले स्थानीय सरकार र प्रशासनलाई सात दिनभित्र सर्वपक्षीय समन्वय बैठक आयोजना गर्न तथा १५ दिनभित्र लागत अनुमानसहितको प्रारम्भिक कार्ययोजना सार्वजनिक गर्न अल्टिमेटम दिएका छन्।
तोकिएको समयभित्र स्थानीय सरकारले आवश्यक पहल नगरे नागरिक अधिकार प्रयोग गर्दै जिल्ला प्रशासन कार्यालय, संघीय सांसद र गृह मन्त्रालयसम्म यो विषय उठाउने उनले चेतावनी दिएका छन्। साथै, हस्ताक्षर अभियान सञ्चालन गरी सामूहिक दबाब सिर्जना गर्ने पनि उनले बताएका छन्।
सुवर्ण गाउँपालिकामा बढ्दो चोरीका घटनाले स्थानीयवासीमा सुरक्षा चिन्ता बढाएको उल्लेख गर्दै यादवले नागरिकको जिउधनको सुरक्षा र शान्तिसुरक्षा कायम गर्न सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन्।





टिप्पणी