काठमाडौं, ३ भदौ । बाराको सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि निर्मम हत्या भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही गर्न प्रतिनिधिसभाका सांसदहरूले सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद डा. शाहजान खातुनले तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटना मानवतामाथिको कलंक भएको बताउनुभयो। उहाँले “हाम्रा छोरीहरू कहाँ सुरक्षित छन् ?” भन्दै सरकारसँग प्रश्न गर्नुभयो।
सांसद खातुनले बलात्कारजस्ता जघन्य अपराध नियन्त्रणका लागि कानून बनाएर मात्र नपुग्ने भन्दै कानूनको कठोर कार्यान्वयन आवश्यक रहेको बताउनुभयो। छोरीको जीवनभन्दा ठूलो केही नहुने उल्लेख गर्दै उहाँले अपराधीलाई उमेर, लिंग वा शक्तिका आधारमा उन्मुक्ति दिन नहुने धारणा राख्नुभयो।
बालिका तथा महिलामाथि हुने यौन हिंसाका घटनामा शून्य सहनशीलताको नीति लागू गर्न सरकारको ध्यानाकर्षण गराउँदै उहाँले बलात्कारका दोषीलाई मृत्युदण्डको सजाय हुने कानूनी व्यवस्था गर्नसमेत माग गर्नुभयो।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रहबर अन्सारीले बालिकाको बलात्कारपछि हत्या भएको घटनामा प्रहरी प्रशासनले लापरवाही गरेको आरोप लगाउनुभयो। घटना दर्ता भइसकेपछि पनि प्रहरीले प्रभावकारी रूपमा सक्रियता नदेखाउनु गम्भीर विषय भएको उहाँको भनाइ थियो।
सांसद अन्सारीले घटनामा प्रहरीको भूमिकाबारे अनुसन्धान गरी प्रहरीको ‘एक्सन लग’ सार्वजनिक गर्न तथा लापरवाही गर्ने प्रहरी कर्मचारीमाथि समेत कारबाही गर्न माग गर्नुभयो।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरीकी मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी साउन ३१ गते बिहान घरबाट हराएकी थिइन्। उनको शव मंगलबार एउटा घरको खाली कोठामा फेला परेको थियो। घटनापछि बालिकाको बलात्कार तथा हत्याको सत्यतथ्य छानबिन र दोषीमाथि कडा कारबाहीको माग भइरहेको छ।


टिप्पणी