काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि पहिलो पटक झापा पुगेका छन्।
इलाममा आयोजित कार्यक्रममा सहभागी हुन ओली झापास्थित चन्द्रगढी विमानस्थलमा अवतरण गरेका हुन्। विमानस्थलबाट उनी स्थलमार्ग हुँदै इलामतर्फ प्रस्थान गरेका छन्।
ओली आज इलाममै बस्ने कार्यक्रम रहेको बताइएको छ। त्यसपछि आइतबार बिर्तामोडमा नेकपा एमाले झापाले आयोजना गर्ने ‘मिसन पार्टी जागरण अभियान’ को उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
गत फागुनमा भएको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि जनतासँगको सम्बन्ध सुदृढ गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन एमालेले उक्त अभियान सञ्चालन गर्न लागेको जनाएको छ।
एमालेका अनुसार अभियान झापाबाट सुरु भई देशभरका ७५३ वटै स्थानीय तहका वडा तहसम्म सञ्चालन गरिनेछ। अभियानमार्फत पार्टी संगठनलाई पुनः सक्रिय बनाउने र जनतासँगको सम्बन्ध थप मजबुत बनाउने लक्ष्य राखिएको एमालेले जनाएको छ।


टिप्पणी