काठमाडौँमा आयोजित बजेटपछिको अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले ले ५० लाख रुपैयाँसम्म मूल्य पर्ने गाडीहरूको मूल्य घट्ने दाबी गरेका छन् । उनले सरकारले विलासिता श्रेणीका सवारीसाधनमा मात्र कर वृद्धि गरेको स्पष्ट पारे ।
नेपाल आर्थिक पत्रकार सङ्घ द्वारा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले केही वर्षअघिसम्म विद्युतीय सवारीको प्रयोग बढाउन सरकारले विशेष कर छुट दिएको भए पनि अहिले आवश्यकता र बजार अवस्थाअनुसार कर संरचना परिमार्जन गरिएको बताए ।
“अहिले १ करोड रुपैयाँसम्मका विद्युतीय गाडी चढेर हिँड्नु पनि विलासिता हो, यो कुरा सबैले स्वीकार गर्नुपर्छ,” उनले भने । उनका अनुसार प्रधानमन्त्रीको निर्देशनअनुसार ५० लाख रुपैयाँभन्दा कम मूल्यका गाडीमा कर नबढाउने नीति लिइएको हो । “५० लाखभन्दा माथिका गाडीमा कर बढाउँदा आम उपभोक्तालाई खासै असर नपर्ने अपेक्षा गरिएको छ,” उनले थपे ।
अर्थमन्त्री वाग्लेले अटो व्यवसायीहरूले किलोवाटका आधारमा विद्युतीय गाडी आयात गर्दा महालेखा परीक्षकको कार्यालय ले प्रश्न उठाएपछि व्यवसायीहरू तनावमा परेको बताए । उनले अब किलोवाटको सट्टा गाडीको मूल्यका आधारमा कर निर्धारण गरिएकाले अटो व्यवसायीहरूलाई समेत राहत महसुस भएको दाबी गरे ।
उनले विद्युतीय गाडीलाई पूर्ण रूपमा स्वच्छ ऊर्जा भन्न नमिल्ने तर्क गर्दै ब्याट्री व्यवस्थापन र त्यसको दीर्घकालीन प्रभाव अझै चुनौतीपूर्ण विषय रहेको उल्लेख गरे ।
अर्थमन्त्रीका अनुसार नयाँ कर संरचनाले एकातर्फ राजस्व सन्तुलन कायम गर्ने र अर्कोतर्फ सस्तो मूल्यका सवारीसाधन प्रयोगकर्तालाई राहत दिने लक्ष्य राखेको छ ।


टिप्पणी