राजन कुमार बानिया / पर्सा, १८ असार । धोबीनी गाउँपालिकाअन्तर्गत रहेको श्री काली प्रा. लाखे माध्यमिक विद्यालय, लंगडीमा मेन्टर तथा मेन्टी शिक्षक सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मेन्टर तथा मेन्टी शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममार्फत विद्यालयमा नवीन शिक्षण–सिकाइ विधि अपनाउन, शिक्षकबीच अनुभव आदान–प्रदान गर्न तथा पेशागत क्षमता अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याउने शिक्षकहरूलाई सम्मान गर्दै प्रमाणपत्र प्रदान गरिएको थियो।
समारोहमा धोबीनी गाउँपालिकाका अध्यक्ष मदन प्रसाद चौहान, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद खतिवडा, शिक्षा तथा खेलकुद शाखा प्रमुख जितेन्द्र चौहान, विद्यालय व्यवस्थापन समिति अध्यक्ष अब्बास मिया, प्रधानाध्यापक तथा विभिन्न विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले मेन्टर–मेन्टी प्रणालीले शिक्षकहरूको पेशागत विकासमा सकारात्मक प्रभाव पारिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
सम्मानित शिक्षकहरूले प्राप्त सम्मानले आफूहरूलाई थप जिम्मेवार बनाएको उल्लेख गर्दै गुणस्तरीय शिक्षणमा समर्पित भएर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। सहभागीहरूले कार्यक्रम प्रभावकारी, उपलब्धिमूलक तथा शिक्षकहरूको क्षमता विकासका लागि प्रेरणादायी रहेको प्रतिक्रिया दिएका थिए।
धोबीनी गाउँपालिकाले शिक्षा क्षेत्रको समग्र सुधार, शिक्षकहरूको पेशागत क्षमता विकास तथा विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तर सञ्चालन गर्ने जनाएको छ। कार्यक्रमको सञ्चालन तथा उद्घोषण शिक्षक गोविन्द पटेलले गरेका थिए।


टिप्पणी