2026, July 18 Saturday
०३:०८:१५ बिहान

Latest Posts

English

Latest Posts

पर्सामा च्यातिएका राष्ट्रिय झण्डा तत्काल फेर्न प्रशासनको निर्देशन

२०८३ असार १६, मंगलवार १३:०२

सार्वजनिक स्थानमा रहेका झण्डाको नियमित अनुगमन, मर्मत र संरक्षण गर्न सबै स्थानीय तहलाई परिपत्र

जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाभित्रका सबै स्थानीय तहलाई सार्वजनिक स्थानमा राखिएका राष्ट्रिय झण्डाको नियमित मर्मत, संरक्षण तथा आवश्यक परे तत्काल फेरबदल गर्न निर्देशन दिएको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहाल ले जारी गरेको परिपत्रमा पर्साका विभिन्न चोक, पुल, उद्यान तथा अन्य सार्वजनिक स्थानमा स्थानीय तहद्वारा राखिएका नेपालको राष्ट्रिय झण्डा च्यातिएको, रङ्ग उडेको तथा फोहोर अवस्थामा रहेको भन्दै जनस्तरबाट व्यापक गुनासो आएको उल्लेख गरिएको छ।

परिपत्रमा नेपालको राष्ट्रिय झण्डा राष्ट्रको गौरव, स्वाभिमान र राष्ट्रिय पहिचानको प्रतीक भएकाले यसको सम्मान र मर्यादा कायम राख्नु सबैको संवैधानिक तथा नागरिक दायित्व भएको स्मरण गराइएको छ। साथै, ‘राष्ट्रिय झण्डा र राष्ट्रिय गान प्रयोग सम्बन्धी कार्यविधि, २०६९’ अनुसार सार्वजनिक स्थानमा प्रयोग हुने झण्डा सधैं सफा, सग्लो र मर्यादित अवस्थामा राख्नुपर्ने कानुनी व्यवस्था रहेको प्रशासनले जनाएको छ।

प्रशासनले स्थानीय तहलाई च्यातिएका, रङ्ग उडेका वा फोहोर भएका झण्डा तत्काल हटाई मापदण्डअनुसारका नयाँ झण्डा राख्न, सार्वजनिक स्थानमा रहेका झण्डाको नियमित अनुगमन गर्ने व्यवस्था मिलाउन, पुराना तथा मक्किएका झण्डालाई कार्यविधिअनुसार सम्मानपूर्वक विसर्जन गर्न तथा झण्डा राखिएका स्थानको सरसफाइ र सुरक्षाको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न निर्देशन दिएको छ।

जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय झण्डाको सम्मान र संरक्षणमा कुनै पनि प्रकारको लापरवाही नगर्न सबै स्थानीय तहलाई आग्रह गर्दै उक्त निर्देशनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न अनुरोध गरेको छ।

टिप्पणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *