2026, June 03 Wednesday
०२:२६:२३ बेलुका

Latest Posts

English

Latest Posts

पर्साका ग्रामीण क्षेत्रमा चैते धानमा खैरो फड़के किराको प्रकोप, किसान चिन्तित

धानको बोट पहेंलो र रातो हुन थालेपछि उत्पादन घट्ने डर

AI सारांश
Summary by AI
  • पर्साका विभिन्न पालिकामा चैते धान बालीमा खैरो फड़के किराको प्रकोप फैलिएको छ ।
  • किराले धानको बोटको रस चुस्दा बोट पहेंलो र रातो भएर सुक्न थालेको किसानहरूको गुनासो छ ।
  • कृषि प्राविधिकहरूले पानी सुकाउने र आवश्यक परे विषादी प्रयोग गर्ने सुझाव दिएका छन् ।
२०८३ जेष्ठ १५, शुक्रबार ०२:२४

पर्सागढि नगरपालिका लगायत पर्साका ग्रामीण क्षेत्रमा चैते धान बालीमा खैरो फड़के किराको प्रकोप तीव्र रूपमा फैलिन थालेपछि किसान चिन्तित बनेका छन् । धान गजाउने र पसाउने महत्वपूर्ण समयमा किराको आक्रमण बढेपछि खेतमा धानका बोट पहेंलो र रातो देखिन थालेका छन्, जसले उत्पादनमा असर पर्ने डर किसानमा बढाएको छ ।

किसानहरूका अनुसार धान बालीको वृद्धि हुने समयमा फड़के किराको प्रकोप बढ्दै जाँदा बाली नै नष्ट हुने हो कि भन्ने चिन्ता थपिएको छ । पर्सागढि नगरपालिका–३ का किसान कृष्णा बस्नेत ले धान पसाउने बेलामा किराको प्रकोप अत्यधिक बढेको बताउँदै यसले किसानलाई मानसिक तनावमा पारेको बताए ।

“धान बालीमा यति धेरै किरा लागेपछि बाली हुने हो कि नहुने भन्ने चिन्ताले निन्द्रा समेत हराएको छ,” उनले भने ।

पर्सागढि नगरपालिकाको कृषि शाखाका प्राविधिक शिवपुजन महतो ले पछिल्लो समय फड़के किराको समस्या लिएर आउने किसानको संख्या बढेको जानकारी दिए । उनका अनुसार यो किराले धानको बोटको फेदमा बसेर रस चुस्ने भएकाले बोट पहेंलो हुँदै रातो भएर सुक्न थाल्छ ।

उनले प्रकोप नियन्त्रणका लागि खेतमा रहेको पानी ३ देखि ५ दिनसम्म सुकाउने तथा आवश्यक परे रासायनिक विषादी प्रयोग गर्न सकिने सुझाव दिएका छन् । उनका अनुसार “एसिफेट ७५% एसपी २ मिलिलिटर वा बुप्रोफेजिन २५% एससी १.५ मिलिलिटर” को मात्रा प्रयोग गरी एक–एक हप्ताको अन्तरमा बोटको माथिबाट नभई फेदमा लक्षित गरेर छर्नुपर्छ ।

खैरो फड़के किराको प्रकोप सखुवाप्रसौनी गाउँपालिका, पटेर्वासुगौली गाउँपालिका, जिराभवानी गाउँपालिका र बहुदरमाई नगरपालिका लगायत क्षेत्रमा पनि फैलिएको किसानहरूले बताएका छन् ।

प्रकोप बढ्दै जाँदा समयमै नियन्त्रणका उपाय अपनाउन कृषि प्राविधिकहरूले किसानलाई आग्रह गरेका छन् ।

टिप्पणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *