2026, June 03 Wednesday
०४:३३:२० बेलुका

Latest Posts

English

Latest Posts

गणतन्त्रको रक्षा र संस्थागत विकासमा एकजुट हुन मुख्यमन्त्री आचार्यको आह्वान

१९ औँ गणतन्त्र दिवसमा शुभकामना सन्देश जारी गर्दै समृद्धि र सुशासनमा जोड

AI सारांश
Summary by AI
  • मुख्यमन्त्री चेतनारायण आचार्यले गणतन्त्रको रक्षा र संस्थागत विकासका लागि सबैलाई एकजुट हुन आग्रह गरेका छन् ।
  • लुम्बिनी प्रदेश सरकारले सुशासन, रोजगारी, कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको जनाएको छ ।
  • गणतन्त्र दिवसलाई संघर्षको स्मरणसँगै समृद्ध भविष्य निर्माणको प्रतिबद्धताको अवसरका रूपमा व्याख्या गरिएको छ ।
२०८३ जेष्ठ १५, शुक्रबार ०२:१८

चेतनारायण आचार्य ले गणतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् ।

१९ औँ गणतन्त्र दिवस को अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले गणतन्त्र नेपाली जनताको लामो संघर्ष, त्याग, बलिदान र जनआन्दोलनको उपलब्धि भएकाले यसको संरक्षण र प्रभावकारी कार्यान्वयन आजको प्रमुख आवश्यकता भएको उल्लेख गरेका हुन् ।

उनले गणतन्त्रले नेपाली जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाएको उल्लेख गर्दै समावेशी, समानुपातिक, न्यायपूर्ण र उत्तरदायी शासन व्यवस्थाको आधार तयार भएको बताए । मुख्यमन्त्री आचार्यले लोकतन्त्र, गणतन्त्र र नागरिक अधिकार स्थापनाका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण वीर सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे । साथै परिवर्तनका लागि संघर्ष गर्ने राजनीतिक दल, नागरिक समाज, पत्रकार, बुद्धिजीवी, युवा, महिला तथा आन्दोलनमा सहभागी सम्पूर्ण नागरिकप्रति सम्मान प्रकट गरे ।

मुख्यमन्त्री आचार्यले गणतन्त्रले अधिकारसँगै जिम्मेवारी पनि दिएको उल्लेख गर्दै संघीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउन प्रदेश सरकारहरूको भूमिका सशक्त बनाउँदै लगिएको बताए । संविधानको भावना अनुरूप लुम्बिनी प्रदेश सरकार ले सुशासन, सेवा प्रवाह सुधार र जनउत्तरदायी शासनलाई केन्द्रमा राखेर काम गरिरहेको उनको भनाइ छ ।

उनले युवालाई स्वरोजगार र उद्यमशीलतातर्फ आकर्षित गर्ने, कृषिको आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, शिक्षाको गुणस्तर सुधार तथा स्वास्थ्य सेवाको पहुँच विस्तारलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए ।

मुख्यमन्त्री आचार्यका अनुसार उत्पादन वृद्धि, रोजगारी सिर्जना, न्यायोचित वितरण र पारदर्शी शासन प्रणालीमार्फत मात्रै गणतन्त्रको उद्देश्य पूर्ण रूपमा साकार हुने भएकाले प्रदेश सरकारले यी क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ । उनले गणतन्त्र दिवस विगतका संघर्षको स्मरण मात्र नभई समृद्ध भविष्य निर्माणप्रतिको प्रतिबद्धता व्यक्त गर्ने अवसर भएको उल्लेख गरे ।

अन्त्यमा उनले न्याय, समानता, समावेशिता र समृद्धिको मार्गमा एकताबद्ध भएर अघि बढ्न सबैलाई आह्वान गर्दै गणतन्त्रका उपलब्धिलाई जनजीवनसँग प्रत्यक्ष रूपमा जोड्नुपर्नेमा जोड दिएका छन् ।

टिप्पणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *