पर्साको पटेर्वा सुगौली गाउँपालिका मा एसईई २०८२ मा सफल भएका विद्यार्थीहरुलाई सम्मान गर्दै विशेष सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । शिक्षा क्षेत्रको प्रोत्साहन तथा विद्यार्थीहरुको मनोबल बढाउने उद्देश्यले आयोजित कार्यक्रममा उत्कृष्ट GPA ल्याउने विद्यार्थीदेखि उतिर्ण सबै विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रम गाउँपालिका अध्यक्ष दिनेश चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ममता महतो, सामाजिक विकास संयोजक तथा वडा नं. २ का वडा अध्यक्ष विजय गैरो, वडा नं. ४ का वडा अध्यक्ष बासु पंजियार, प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता, कार्यपालिका सदस्य शिव बालक ठाकुर, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दिनेश चौधरीले शिक्षालाई विकासको मेरुदण्डको रुपमा व्याख्या गर्दै विद्यार्थीहरुको सफलताले गाउँपालिकाको शैक्षिक स्तर माथि उठेको बताउनुभयो । उहाँले मेहनत र अनुशासनका साथ अध्ययन गर्ने विद्यार्थीहरुलाई पालिकाले आगामी दिनमा समेत आवश्यक सहयोग र प्रोत्साहन प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “आज सम्मानित भएका विद्यार्थीहरु भोलिको समाज र राष्ट्रका सक्षम नेतृत्व हुन्,” भन्दै उहाँले शिक्षामा लगानी बढाउन पालिका निरन्तर लागिरहेको जानकारी दिनुभयो ।
उपाध्यक्ष ममता महतोले विद्यार्थीहरुको उपलब्धिले पालिकालाई गर्व महसुस गराएको बताउँदै भविष्यमा अझ उत्कृष्ट नतिजाका लागि निरन्तर मेहनत गर्न आग्रह गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले सफलता प्राप्त गर्न निरन्तर परिश्रम, सकारात्मक सोच र आत्मविश्वास आवश्यक पर्ने उल्लेख गर्दै विद्यार्थीहरुलाई आफ्नो लक्ष्यप्रति दृढ रहन प्रेरित गर्नुभयो ।
यस वर्षको एसईई परीक्षामा इफराहुल हक आलमले ३.५६ GPA ल्याई पालिका प्रथम बनेका छन् । त्यसैगरी निरञ्जन राउत थारुले ३.४१ GPA सहित दोस्रो तथा मेनुका कुमारीले ३.३९ GPA सहित तेस्रो स्थान हासिल गरेकी छन् । कार्यक्रममा एसईई उतिर्ण ६७ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
विद्यार्थीहरुलाई उत्कृष्ट नतिजा दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने तीन जना शिक्षकहरुलाई समेत गाउँपालिकाले विशेष सम्मान गरेको जनाएको छ । कार्यक्रमले शिक्षा क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै विद्यार्थीहरुलाई थप प्रेरणा मिलेको सहभागीहरुको भनाइ रहेको थियो ।


टिप्पणी