पर्साको सखुवा प्रसौनी गाउँपालिका मा यस वर्षको एसईई नतिजाले फेरि शिक्षा क्षेत्रको कमजोर अवस्था उजागर गरेको छ । गाउँपालिका भित्र रहेका चार माध्यमिक विद्यालयबाट नियमिततर्फ परीक्षा दिएका ३२३ विद्यार्थीमध्ये जम्मा ९८ जना मात्र उत्तीर्ण भएका छन् । गत वर्षको तुलनामा नतिजामा केही सुधार देखिए पनि समग्र अवस्था अझै चिन्ताजनक रहेको भन्दै अभिभावकहरूले असन्तुष्टि जनाएका छन् ।
पालिका शिक्षा शाखा प्रमुख भरत गिरी का अनुसार, श्री दिपनारायण आदर्श नमुना माध्यमिक विद्यालय औराहाँ पंचगावाँबाट नियमिततर्फ ८५ विद्यार्थी सहभागी भएकामध्ये ३५ जना उत्तीर्ण भएका छन् । त्यसैगरी श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय देउरवानाबाट ८५ मध्ये ३१ जना, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय महुवन पर्साबाट ८६ मध्ये २१ जना तथा श्री नेपाल राष्ट्रिय मा.वि. सियरहीबाट ६७ मध्ये ११ जना मात्र उत्तीर्ण भएका शिक्षा शाखाले जनाएको छ ।
गत वर्ष २०८१ सालको नतिजा हेर्दा औराहाँ पंचगावाँ विद्यालयमा ११० मध्ये ११ जना, देउरवानामा ९८ मध्ये २३ जना, महुवनमा १२७ मध्ये १३ जना तथा सियरहीमा ९४ मध्ये १० जना मात्र उत्तीर्ण भएका थिए । यस वर्ष केही सुधार भए पनि अपेक्षाअनुसार नतिजा आउन नसकेको भन्दै स्थानीय अभिभावकहरूले विद्यालय प्रशासन र शिक्षा शाखाप्रति प्रश्न उठाएका छन् ।
शिक्षा शाखा प्रमुख भरत गिरीले आउँदो आर्थिक वर्षदेखि पालिकाको प्रत्येक वडामा ६ महिनाका लागि ५/५ वटा ट्युसन सेन्टर सञ्चालन गरिने जानकारी दिएका छन् । “नतिजा सुधारका लागि विशेष योजना बनाइएको छ, आगामी वर्ष पनि निराशाजनक अवस्था आए थप कडाइका साथ सुधार अभियान चलाइनेछ,” उनले बताए ।
स्थानीयवासीहरू भने विद्यालयमा नियमित पठनपाठन, शिक्षकको जिम्मेवारी र विद्यार्थीको शैक्षिक वातावरणमा अझ प्रभावकारी सुधार नगरेसम्म नतिजामा ठूलो परिवर्तन आउन कठिन हुने बताउँछन् ।


टिप्पणी