नवल किशोर यादव, २९ चैत्र। पर्सागढी नगरपालिका वडा नं. ९, मनवा बजारस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) बडेर्वाले वार्षिक नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष दुर्गा लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरिएको हो। कार्यक्रममा अभिभावक, शिक्षक तथा स्थानीय सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा कक्षा ९ (प्राविधिक धार) मा अध्ययनरत छात्रा स्वेता यादवले ३.९७ जीपीए प्राप्त गर्दै विद्यालय प्रथम हुन सफल भएकी छन्। उनलाई विद्यालयले प्रोत्साहनस्वरूप एक थान साइकल प्रदान गरेको प्रधानाध्यापक चेतमन प्रसाद दासले जानकारी दिए। त्यसैगरी, बाल विकासदेखि कक्षा ९ सम्म प्रत्येक कक्षाबाट उत्कृष्ट स्थान हासिल गर्ने ४/४ जनाका दरले कुल ४० जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा स्टेशनरी वितरण गरिएको छ।
विद्यालयको शैक्षिक उन्नयनमा योगदान पुर्याउने ३० जना शिक्षक-शिक्षिकालाई गम्छा, फूलमाला र डायरीसहित सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा बालेश्वर चौधरी, सरोज चौधरी, लक्ष्मी ढकाल, निरा पौडेल, सुरेन्द्र गरौं, श्याम खवास, ममता महतो, रुबी चौधरी लगायत रहेका छन्। साथै विद्यालयको विकासमा सहयोग गर्ने अभिभावक तथा शिक्षाप्रेमीलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो।
कार्यक्रममा बोल्दै शिक्षाविद् एवं पूर्व प्रधानाध्यापक भागवत प्रसाद थारुले प्राविधिक शिक्षाले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले विद्यालय र अभिभावकबीचको सहकार्यले विद्यार्थीको भविष्य बलियो बनाउने उल्लेख गरे। शिक्षा पत्रकार जिल्ला अध्यक्ष प्रमोद यादवले विद्यालयले शैक्षिक गुणस्तरमा जिल्लामै छुट्टै पहिचान बनाएको भन्दै प्रशंसा व्यक्त गरे।
प्रधानाध्यापक चेतमन प्रसाद चौधरीले विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम भएको उल्लेख गर्दै आगामी दिनमा प्रविधिमैत्री शिक्षामा अझ जोड दिने प्रतिबद्धता जनाए। उनले अभिभावकको निरन्तर सहयोग विद्यालयका लागि महत्वपूर्ण हुने बताए।
कार्यक्रममा पर्सागढी वडा नं. १ का वडा अध्यक्ष राजकुमार खवास, मावि शिक्षक बालेश्वर चौधरी, समाजसेवी बृजमोहन चौधरी, कृष्ण प्रसाद तिवारी, वडा सदस्य हृदयनारायण गरौं लगायतले शुभकामना मन्तव्य दिएका थिए। सहायक प्रधानाध्यापक लक्ष्मी ढकालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन राम विलाश साहले गरेका थिए।


टिप्पणी