मुम्बई – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन को बहुप्रतिक्षित फिल्म ‘भूत बङ्गला’ को प्रदर्शन मिति परिवर्तन गरिएको छ।
पहिले १० अप्रिलमा प्रदर्शन हुने तय भएको यो फिल्म अब १६ अप्रिलदेखि प्रदर्शनमा आउने भएको छ। फिल्मकी निर्माता एकता कपूर ले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएकी हुन्।
उनका अनुसार १६ अप्रिल (बिहीबार) राति ९ बजेदेखि फिल्मका ‘पेड प्रिभ्यू’ शोहरू सुरु गरिनेछन्। निर्माता, वितरक र प्रदर्शकबीचको त्रिपक्षीय सहमतिमा यो निर्णय लिइएको बताइएको छ।
फिल्मको प्रदर्शन मिति सार्नुको मुख्य कारण हाल प्रदर्शनमा रहेको फिल्म ‘धुरन्धर २’ को बक्स अफिसमा देखिएको मजबुत प्रदर्शन रहेको जनाइएको छ। प्रतिस्पर्धालाई ध्यानमा राख्दै रणनीतिक रूपमा मिति हेरफेर गरिएको हो।
‘भूत बङ्गला’ मार्फत अक्षय कुमार र प्रियदर्शनको जोडी करिब १४ वर्षपछि पुनः ठुलो पर्दामा फर्किएको छ, जसले दर्शकमाझ थप उत्साह सिर्जना गरेको छ। यो फिल्म हरर–कमेडी विधामा आधारित रहेको छ।
फिल्ममा अक्षय कुमारका साथै तब्बू, परेश रावल, वामिका गब्बी, राजपाल यादव र असरानी जस्ता चर्चित कलाकारहरूको मुख्य भूमिका रहेको छ।
अक्षय–प्रियदर्शनको सहकार्यमा यसअघि ‘हेरा फेरी’, ‘भुल भुलैया’ र ‘गरम मसाला’ जस्ता सफल फिल्म आइसकेका कारण ‘भूत बङ्गला’ प्रति दर्शकको अपेक्षा अझ उच्च बनेको छ।


टिप्पणी