भक्तपुर — राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। चैत १९ गतेदेखि देशभरका सबै परीक्षा केन्द्रबाट बिहान ८ बजे एकैसाथ परीक्षा सुरु हुने भएको हो।
यस वर्ष कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदैछन्। तीमध्ये ४ लाख ४१ हजार ५६६ नियमिततर्फ र ७० हजार ८५५ विद्यार्थी ग्रेड वृद्धितर्फ रहेका छन्। बोर्डका अनुसार छात्राको संख्या छात्रभन्दा बढी रहेको छ।
देशभर १ हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने ११ हजारभन्दा बढी विद्यालयका विद्यार्थी परीक्षा दिनेछन्। प्रश्नपत्र सबै जिल्लामा सुरक्षित रूपमा पुर्याइसकिएको बोर्डले जनाएको छ।
परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन यस वर्ष सामूहिक अनुगमनमा रोक लगाइएको छ। अनुगमन अब आधिकारिक निकायमार्फत मात्र बाहिरबाट गरिनेछ। साथै, प्रत्येक परीक्षा केन्द्रमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिने व्यवस्था गरिएको छ।


टिप्पणी