वीरगन्ज, चैत ७ — प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबीचको खेल वर्षाका कारण अवरुद्ध भएको छ। वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा शनिबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेल वर्षा भएपछि रोकिएको हो।
वर्षा सुरु हुनुअघि कर्णाली प्रदेशले ब्याटिङ गर्दै सात ओभरमा २० रन जोडेको थियो। कर्णालीका ओपनर रवीन्द्र शाहीले ९ रन तथा सुनिल धमलाले ७ रन बनाएका थिए। लुम्बिनीका बलर सन्देश थापाले चार ओभरमा १२ रन दिएका छन् भने राजेन्द्र बमले तीन ओभरमा एक मेडनसहित ८ रन दिएका थिए।
यसअघि लुम्बिनी प्रदेशले टस जितेर कर्णालीलाई ब्याटिङको निम्तो दिएको थियो। खेल सुरु भएको केही समयमै वर्षा सुरु भएपछि खेल रोकिएको नेपाल क्रिकेट संघ मधेस प्रदेशका कोषाध्यक्ष सुवास जयसवालले जानकारी दिए।
वर्षाकै कारण जनकपुरस्थित रामजानकी रंगशालामा शनिबार हुने भनिएको कोशी प्रदेश र मधेस प्रदेशबीचको खेल पनि प्रभावित बनेको छ। सोही स्थानमा आयोजना हुने उद्घाटन समारोह समेत वर्षाका कारण प्रभावित भएको बताइएको छ।
यस वर्षको प्रतियोगिता मधेस प्रदेशका वीरगन्ज र जनकपुर तथा काठमाडौंका तल्लो र माथिल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन भइरहेको छ। प्रतियोगिताका १९ खेल वीरगन्जमा, १७ खेल जनकपुरमा र १० खेल मुलपानीमा हुनेछन्।
आईसीसी विश्वकप लिग २ को तयारीका कारण कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कुनै पनि खेल आयोजना गरिएको छैन। सो मैदानमा हुने तय भएका खेलहरू मुलपानीमा सारिएको छ।
झण्डै एक महिनासम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेश गरी १० टोली सहभागी छन्। प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। नेपाल पुलिस क्लब यस प्रतियोगिताको साविक विजेता टोली हो।


टिप्पणी