वीरगञ्ज, १ चैत — पर्सा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित औषधि ट्रामाडोल ट्याब्लेट बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ। नियमित चेकजाँचका क्रममा वीरगञ्जबाट काठमाडौं जाँदै गरेको सवारी साधनबाट उक्त औषधि बरामद गरिएको हो।
प्रहरीका अनुसार चेकजाँचका क्रममा ५२ हजार ३ सय थान ट्रामाडोल ट्याब्लेट फेला परेको हो। औषधि बरामदसँगै प्रहरीले गाडीका चालक, सामान बोकेको व्यक्ति तथा गाडीलाई नियन्त्रणमा लिएको थियो।
पक्राउ पर्नेहरूमा बाराको परवानीपुर गाउँपालिका–१ रहरिया डिलका राम अशिष राउत अहिर र पर्साको बहुदरमाई नगरपालिका–२ सिसियाडीका सुवास सर्राफ रहेका छन्। सो क्रममा ना १ ज २७६५ नम्बरको रातो टाटा सुमो पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनामा संलग्न एक व्यक्ति भने अझै फरार रहेको र उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले घटनाबारे विस्तृत जानकारी दिएको हो।
प्रहरीका अनुसार यो घटनाले वीरगञ्ज क्षेत्र प्रतिबन्धित औषधि ओसारपसार तथा बिक्री–वितरणको ट्रान्जिट प्वाइन्टको रूपमा प्रयोग भइरहेको तथ्यलाई पुनः पुष्टि गरेको छ। लामो समयदेखि सक्रिय गिरोहले वीरगञ्जलाई केन्द्र बनाएर यस्तो कारोबार गर्दै आएको आशंका गरिएको छ।
पर्साका प्रहरी उपरीक्षक सुदीप राज पाठकले बरामद भएको औषधि काठमाडौं लैजान लागिएको भए पनि अन्तिम गन्तव्य कहाँ थियो भन्ने विषयमा अनुसन्धान जारी रहेको बताए। उनले घटनामा संलग्न मुख्य गिरोहसम्म पुग्ने गरी अनुसन्धान अघि बढाइएको जानकारी दिए।
गाडीका चालकलाई नियन्त्रणमा लिइए तापनि घटनामा उनको प्रत्यक्ष संलग्नता रहेको वा नरहेको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीले निर्दोष व्यक्तिलाई फसाउने उद्देश्य नरहेको तर अनुसन्धानका क्रममा आवश्यक परे सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिनुपर्ने अवस्था आउने पनि बताएको छ।


टिप्पणी