पर्सा, १ चैत — नेपाल प्रहरीको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं. २ स्थित पञ्चरत्न महादेव मन्दिरको प्राङ्गणमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको आयोजनामा सम्पन्न कार्यक्रममा सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष जस्वन्त यादव तथा कार्यालयका प्रहरी निरीक्षक समुन्नत अधिकारीको विशेष सहभागिता रहेको थियो। कार्यक्रममा स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा प्रहरी कर्मचारीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष यादवले समुदाय र प्रहरीबीचको सहकार्यले समाजमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। सार्वजनिक स्थलको संरक्षण र स्वच्छ वातावरण निर्माण सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै उहाँले यस्ता अभियानले स्थानीय तहमा जनचेतना बढाउने विश्वास व्यक्त गर्नुभयो।
त्यस्तै, प्रहरी निरीक्षक समुन्नत अधिकारीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमले नागरिक र प्रहरीबीचको दूरी घटाउँदै आपसी विश्वास तथा सहकार्यलाई अझ मजबुत बनाउने बताउनुभयो। समाजमा शान्ति सुरक्षा कायम राख्न स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै उहाँले सरसफाइजस्ता कार्यक्रमले सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुर्याउने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमका क्रममा मन्दिर परिसर तथा आसपासका क्षेत्र सरसफाइ गरी स्वच्छ वातावरण कायम राख्ने सन्देश दिइएको थियो। स्थानीयवासीले यस्ता कार्यक्रमले समुदाय र प्रहरीबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।


टिप्पणी