पर्सा— पर्साको सखुवा प्रसौनी गाउँपालिकामा गएराति आएको हावाहुरी र वर्षासँगै परेको असिनाका कारण विभिन्न गाउँका सडक अवरुद्ध भएका छन्। हावाहुरीका कारण महुवन, सोलखपुर र गुलवरिया क्षेत्रमा बिजुलीका पोल तथा रुख ढलेपछि स्थानीय सडक बन्द भएको थियो।
अवरुद्ध सडकको जानकारी प्राप्त हुनासाथ सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादव घटनास्थलमा पुगेर प्रहरीसँग समन्वय गरी सडक खुलाउने कार्यमा जुट्नुभएको थियो। अध्यक्ष यादवको नेतृत्वमा गाउँपालिकाको जेसिबी, स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा ढलेका रुख तथा अवरोध हटाइएपछि सडक पुनः सञ्चालनमा आएको जनाइएको छ।
गाउँपालिका अध्यक्ष यादवका अनुसार गएराति ग्रामीण क्षेत्रमा वर्षासँगै ठूलो आकारका असिना परेको थियो, जसका कारण केही स्थानमा क्षति पुगेको छ। हावाहुरीका कारण प्रभावित क्षेत्रमा विद्युत् लाइन भने अझै अवरुद्ध रहेको उनले बताए।
स्थानीयवासी लालबहादुर यादव र प्रभु यादवका अनुसार यस क्षेत्रमा धेरै वर्षपछि यति ठूलो आकारको असिना परेको हो। असिनासहितको हावाहुरीले गाउँका केही रुख तथा संरचनामा पनि क्षति पुर्याएको उनीहरूले बताएका छन्।
सडक खुलाउने कार्यमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा प्रहरी टोली र गाउँपालिकाको टोली घटनास्थलमा पुगेका थिए। दुवै टोलीको समन्वयमा अवरोध हटाइएपछि अहिले उक्त सडकमा आवतजावत सहज रूपमा सञ्चालन भइरहेको स्थानीयले बताएका छन्।


टिप्पणी