2026, June 03 Wednesday
०२:३०:१६ बेलुका

Latest Posts

English

Latest Posts

पर्सा–४ का पूर्वमन्त्री रमेश रिजालले बुझाए चुनाव खर्च विवरण

निर्वाचनमा ११ लाख ७३ हजार ७१० रुपैयाँ खर्च भएको सार्वजनिक, सबैभन्दा बढी प्रचार सामग्रीमा खर्च

AI सारांश
Summary by AI
  • पर्सा–४ का कांग्रेस उम्मेदवार तथा पूर्वमन्त्री रमेश रिजालले निर्वाचन खर्च विवरण बुझाएका छन्।
  • उनले चुनावमा कूल ११ लाख ७३ हजार ७१० रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।
  • उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका टेक बहादुर शाक्य विजयी भएका थिए।
२०८२ फाल्गुन २९, शुक्रबार १०:११

पञ्चगावा, फागुन २९— पर्सा जिल्ला क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेर प्रतिनिधि सभा सदस्यका लागि चुनाव लडेका पूर्वमन्त्री रमेश रिजाल ले यसपटकको निर्वाचनमा आफूले गरेको खर्चको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन्।

रिजालले आफ्ना निर्वाचन प्रतिनिधि विनय भूषण द्विवेदी मार्फत शुक्रबार निर्वाचन कार्यालय पर्सामा उक्त खर्च विवरण बुझाएका हुन्। उनले बुझाएको विवरणअनुसार निर्वाचनमा कूल ११ लाख ७३ हजार ७१० रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ। खर्च विवरणमा सबैभन्दा बढी रकम प्रचार–प्रसार सामग्रीमा खर्च भएको देखिएको छ। रिजालका अनुसार भण्डा, ब्याच लगायतका प्रचार सामग्रीमा ५ लाख रुपैयाँ खर्च भएको छ भने सवारी साधन तथा इन्धनमा २ लाख २ हजार ७१० रुपैयाँ खर्च गरिएको छ।

त्यस्तै घरदैलो कार्यक्रमका क्रममा खाजा, चिया र पानीमा १ लाख ५७ हजार रुपैयाँ, नमूना मतपत्र तथा ब्यानर छपाइमा १ लाख ५० हजार रुपैयाँ खर्च गरिएको उल्लेख छ। साथै मतदाता प्रशिक्षण व्यवस्थापनमा ७८ हजार रुपैयाँ तथा टेन्ट, ध्वनि प्रणाली र मञ्च व्यवस्थापनमा ४५ हजार रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ।

यसैगरी क्षेत्रीय प्रचार–प्रसार सम्पर्क कार्यालय सञ्चालनमा २५ हजार रुपैयाँ, मनोनयन दर्ता शुल्कमा १० हजार रुपैयाँ तथा पानी र चियामा ३ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पर्सा क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेक बहादुर शाक्य २८ हजार ६ मतका साथ निर्वाचित भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्वमन्त्री रमेश रिजाल १२ हजार ५३४ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहे। त्यस्तै नेकपा एमालेका उम्मेदवार जालिम मियाँ मन्सुरी ले १२ हजार १४५ मत प्राप्त गरेका थिए।

टिप्पणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *