वीरगञ्ज । आज मिति २०८३ भदौ १० गते बुधबार बिहान करिब ८ः४० बजे रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका जिल्लाका तटीय क्षेत्र प्रभावित बनेका छन्।
बाढीपछि सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहतका कार्यलाई तीव्रता दिएको छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्ने कार्यसमेत जारी रहेको छ।
विपद्बाट प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुका साथै दीर्घकालीन रूपमा पुनःस्थापना गर्नुपर्ने आवश्यकता देखिएको छ। यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न सरकारले सबैमा अपिल गरेको छ।
सरकारको उक्त अपिलपछि होप फर ह्युमानिटी संस्थाले आफ्ना सदस्यहरूबाट रकम संकलन गरी ५ हजार रुपैयाँ सहयोग गरेको संस्थाका संस्थापक इलियास अन्सारीले जानकारी दिएका छन्।
अन्सारीका अनुसार विपद्को यस घडीमा संस्थाले आफ्नो क्षमताअनुसार सहयोग गर्ने प्रयास गरेको हो। उनले आगामी दिनमा पनि संस्थासँग उपलब्ध स्रोतसाधनअनुसार थप सहयोग गर्न आफूहरू तयार रहेको बताए।
उनले विपद्बाट प्रभावित नागरिकलाई आवश्यक सहयोगको खाँचो परेमा संस्थालाई जानकारी गराउनसमेत आग्रह गरेका छन्



टिप्पणी