आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्याड्समा मंगलबार भएको खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४६.५ ओभरमा १५८ रनमै अलआउट भयो। कप्तान रोहित पौडेलले ३१, दीपेन्द्रसिंह ऐरीले ३० तथा गुल्सन झाले २० रन बनाए पनि अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्।
१५९ रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले २ विकेट मात्र गुमाएर ३७.४ ओभरमै सहज रूपमा लक्ष्य पूरा गर्यो। नेपालका लागि नन्दन यादव र कप्तान रोहित पौडेलले १–१ विकेट लिए।
यस हारसँगै नेपालको विश्वकप ग्लोबल छनोटमा पुग्ने सम्भावनामा ठूलो धक्का लागेको छ। २९ खेलबाट २४ अंक जोडेको नेपाल पाँचौं स्थानमा रहेको छ। नेपालका अब सात खेल बाँकी छन्। ती सबै खेल जिते पनि स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमानको नतिजामा नेपालको भविष्य निर्भर रहनेछ।
अमेरिकाले चार खेल बाँकी रहँदै ग्लोबल छनोटमा स्थान सुरक्षित गरिसकेको छ। अब बाँकी स्थानका लागि नेपाल, क्यानडा, स्कटल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स र ओमानबीच प्रतिस्पर्धा छ।
हाल स्कटल्यान्ड ३२ खेलबाट ३८ अंकसहित दोस्रो, नेदरल्यान्ड्स २८ खेलबाट ३२ अंकसहित तेस्रो, ओमान २८ खेलबाट ३१ अंकसहित चौथो स्थानमा छन्। नामिबियाले नेपाललाई हराएपछि २९ खेलबाट २४ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ। क्यानडाको पनि २८ खेलबाट २४ अंक रहेको छ भने युएई १४ अंकसहित ग्लोबल छनोटको दौडबाट बाहिरिएको छ।
नेदरल्याड्स र नामिबियाविरुद्धको सिरिजमा नेपालले लगातार खराब सुरुवात गरेपछि टोलीमाथि दबाब बढेको छ। नेपालको अर्को खेल बिहीबार नेदरल्यान्ड्सविरुद्ध हुनेछ।



टिप्पणी