2026, July 18 Saturday
०४:१०:२४ बिहान

Latest Posts

English

Latest Posts

श्री दिपनारायण आदर्श नमुना माविका विद्यार्थीले व्यवसायिक योजनाबाट कमाए नाफा, व्यवहारिक शिक्षाको प्रभावकारी अभ्यास

ENSURE परियोजनाअन्तर्गत कक्षा ९ का विद्यार्थीले सञ्चालन गरे विभिन्न व्यवसायिक स्टल; व्यवहारिक शिक्षा, आत्मनिर्भरता र उद्यमशील सोच विकासमा जोड।

२०८३ असार १८, बिहीबार ०५:५०

पर्सा । “सीप सिकौं, व्यवसायी बनौं, आर्थिक स्थिति सुधारौं” भन्ने मूल नाराका साथ ENSURE परियोजना अन्तर्गत हेल्भेटास नेपालको प्राविधिक सहयोग तथा श्री दिपनारायण आदर्श नमुना माध्यमिक विद्यालय, सखुवा प्रसौनी गाउँपालिका–२, औराहा पचगावाँ, पर्साको आयोजनामा कक्षा ९ का विद्यार्थीहरूका लागि उद्यमशीलता सीप विकाससम्बन्धी व्यवसायिक योजना कार्यान्वयन तथा प्रदर्शनी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

विद्यालय परिसरमा आयोजित प्रदर्शनीमा विद्यार्थीहरूले आफैं व्यवसायिक योजना तयार गरी चटपट, खाजा पसल, कस्मेटिक पसल, पुस्तक पसल, स्थानीय परिकार घोंगी, चाउमिन, मःमः तथा लस्सीलगायतका व्यवसायिक स्टल सञ्चालन गरेका थिए। प्रदर्शनीमा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। पुस्तक पसलबाहेक अधिकांश स्टलका सामग्री पूर्ण रूपमा बिक्री भएको तथा अपेक्षाभन्दा बढी मुनाफा गर्न सफल भएको विद्यार्थीहरूले बताएका थिए। यसले कक्षाकोठामा प्राप्त ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्न विद्यार्थी सफल भएको देखाएको छ।

कार्यक्रमका प्रमुख अतिथि सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीव कुमार यादवले यस्ता कार्यक्रमले विद्यार्थीलाई औपचारिक शिक्षासँगै व्यवहारिक सीप प्रदान गर्दै आत्मनिर्भर बन्न प्रेरित गर्ने बताए। शिक्षा र सीपलाई सँगसँगै अघि बढाउन सके विद्यार्थीले अध्ययनसँगै आयआर्जन गर्न, उच्च शिक्षा हासिल गर्न तथा परिवारको आर्थिक अवस्था सुधार्नसमेत टेवा पुग्ने उनको भनाइ थियो।

उनले आर्थिक अभावका कारण कतिपय विद्यार्थीले उच्च शिक्षा निरन्तरता दिन कठिनाइ भोग्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उद्यमशीलता सम्बन्धी सीपले स्वरोजगार सिर्जना गरी अध्ययनलाई निरन्तरता दिन सहयोग पुर्‍याउने बताए। साथै, व्यवसाय सञ्चालन गर्दा सरसफाइ, गुणस्तरीय सेवा र ग्राहकप्रतिको जिम्मेवारीलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख भरत गिरीले पाठ्यपुस्तकको ज्ञान मात्र पर्याप्त नहुने भन्दै व्यवहारिक तथा व्यावसायिक शिक्षाको आवश्यकता दिनप्रतिदिन बढ्दै गएको बताए। नेपाल सरकारले पनि व्यावसायिक शिक्षालाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले कुनै पनि पेशा वा व्यवसायलाई सानो–ठूलो नभनी सीपका आधारमा आत्मनिर्भर बन्न विद्यार्थीहरूलाई आग्रह गरे।

विद्यालयका प्रधानाध्यापक शिवनाथ प्रसाद थारुले विद्यालयमा कक्षा ७ देखि ९ सम्मका विद्यार्थीलाई उद्यमशीलतासम्बन्धी व्यवहारिक शिक्षा प्रदान गर्दै आएको जानकारी दिए। कुनै कारणवश विद्यार्थीले बीचमै अध्ययन छोड्नुपरे पनि प्राप्त सीपका आधारमा आफ्नै व्यवसाय सञ्चालन गरी आत्मनिर्भर बन्न सक्ने विश्वास व्यक्त गर्दै उनले यस्ता कार्यक्रमले विद्यार्थीको आत्मविश्वास, नेतृत्व क्षमता तथा जीवनोपयोगी सीप विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गाया राउत थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष चिरञ्जीवी महतो थारुलगायत वक्ताहरूले विद्यार्थीलाई सीपमूलक शिक्षातर्फ आकर्षित गर्ने यस्ता कार्यक्रम समयको आवश्यकता रहेको धारणा व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन राजकपुर चौधरीले गरेका थिए।

प्रदर्शनीमार्फत शिक्षालाई केवल परीक्षा र प्रमाणपत्रमा सीमित नराखी “सिक्दै कमाउने र कमाउँदै सिक्ने” अवधारणालाई व्यवहारमा उतारिएको सहभागीहरूले बताएका छन्। विद्यार्थीहरूले लागत अनुमान, लगानी, उत्पादन, बिक्री, ग्राहक सेवा तथा नाफा–नोक्सानको हिसाब आफैं व्यवस्थापन गरेका थिए। यस अभ्यासले उनीहरूमा उद्यमशील सोच, आर्थिक अनुशासन, नेतृत्व क्षमता तथा व्यवसाय सञ्चालनको प्रारम्भिक अनुभव विकास गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ थियो।

विद्यालयले आगामी वर्षहरूमा पनि यस्ता व्यवहारिक, सीपमूलक तथा उद्यमशीलता प्रवर्द्धन गर्ने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। यस्ता अभ्यासले विद्यार्थीलाई भविष्यमा स्वरोजगार, सफल उद्यमी तथा जिम्मेवार नागरिक बन्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

टिप्पणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लेखकको बारेमा

नवल किशोर

नवल किशोर

नवल किशोर प्रदेशलिड डटकमका संचालक तथा सम्पादक हुन !
लेखकबाट थप