प्रेस सेन्टर नेपाल पर्साले स्थापना गरेको कृष्णासेन इच्छुक स्मृति पुरस्कार तथा क्रियाशील पत्रकारिता पुरस्कार शनिबार एक विशेष समारोहका बीच प्रदान गरेको छ ।
यस वर्षको कृष्णासेन इच्छुक स्मृति पुरस्कारबाट निरज पिठाकोटे तथा क्रियाशील पत्रकारिता पुरस्कारबाट बलिराम यादव सम्मानित भएका हुन् ।सम्मानित व्यक्तित्वहरूलाई कार्यक्रमका प्रमुख अतिथि तथा कमल गिरी ले जनही २१ हजार रुपैयाँ नगद, सम्मानपत्र तथा दोसल्ला ओढाई सम्मानित गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ का केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने ले स्वर्गीय कृष्णासेन इच्छुक ले निडर र प्रतिबद्ध पत्रकारितामार्फत लोकतन्त्र, प्रेस स्वतन्त्रता तथा जनअधिकारको पक्षमा महत्वपूर्ण योगदान पुर्याएको स्मरण गरे ।
उनले प्रजातन्त्र र नागरिक अधिकारको रक्षाका लागि आफ्नो प्राणको आहुती दिएका इच्छुकलाई नेपाली पत्रकारिता जगतले कहिल्यै बिर्सन नसक्ने बताए । साथै पत्रकारितासँगै साहित्य र कविता लेखनमा समेत इच्छुकको सक्रिय योगदान रहेको उल्लेख गर्दै उनका सिर्जनाले देशप्रेम, सामाजिक न्याय तथा परिवर्तनको सन्देश प्रवाह गरेको बताए ।
कार्यक्रमका वक्ताहरूले पत्रकारिता क्षेत्रको विकास, प्रेस स्वतन्त्रताको संरक्षण तथा सामाजिक उत्तरदायित्व निर्वाहमा पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गरे । उनीहरूले राज्यले विभिन्न माध्यमबाट पत्रकार तथा सञ्चार संस्थामाथि आर्थिक दबाब सिर्जना गरी मिडियाको आवाज बन्द गर्न खोजेको आरोप लगाउँदै प्रेस स्वतन्त्रतामाथिको कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने बताए ।
कार्यक्रममा गोविन्द देवकोटा, श्याम बन्जारा, सुनिता बराल, कृष्णा थापा तथा ओमप्रकाश खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।त्यसैगरी निरञ्जन मिश्र, विजय चौहान, आनन्द पटेल, राजन रौनियार, शम्भु कुमार सुमन लगायत सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।शिवनाथ यादव को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव अजित भुजेल ले गरेका थिए ।


टिप्पणी