पर्सा | सनातन परम्परामा प्रत्येक पर्व केवल आस्थाको प्रतीक मात्र नभई शास्त्रीय जीवन दर्शनको पनि द्योतक मानिन्छ। चैत्र महिनामा मनाइने चैती छठ यसै परम्पराको एक महत्वपूर्ण पर्व हो। धर्मग्रन्थहरूमा चैत्र महिनालाई सृष्टिको प्रारम्भको रूपमा वर्णन गरिएको छ, जसले नयाँ संवत्सर, नयाँ ऊर्जा र नयाँ संकल्पको सन्देश दिन्छ। यस अवसरमा गरिने सूर्य उपासना र षष्ठी देवीको पूजा जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिन्छ।
ज्योतिष आचार्य पण्डित राजनाथ झाले लोक आस्थाको महापर्व चैती छठ यस वर्ष मार्च २२ तारिख आज देखि ‘नहाय-खाय’सँगै सुरु हुने जानकारी दिएका छन्। ऋग्वेदमा सूर्यलाई सृष्टिको केन्द्र मानिएको उल्लेख गर्दै अस्ताउँदै र उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिने परम्परा वैदिक संस्कृतिको प्रतीक भएको बताइएको छ। षष्ठी देवीलाई सन्तानको सुरक्षा र समृद्धिको अधिष्ठात्री देवीका रूपमा पूजा गरिन्छ भने सूर्य उपासनाको परम्परा वैदिक कालदेखि नै चलिआएको मानिन्छ। मधेश तराई क्षेत्रमा यो पर्व विशेष श्रद्धा र भक्ति भावका साथ मनाइन्छ।
चैती छठको चार दिने अनुष्ठान चैत्र शुक्ल चतुर्थी अर्थात् मार्च २२ आइतबार आज बाट सुरु हुन्छ। पहिलो दिन ‘नहाय-खाय’मा व्रतालुहरूले पवित्र स्नान गरी भगवान सूर्यको पूजा गर्छन् र अरवा चामल, कद्दूको तरकारी तथा चनाको दाल प्रसादका रूपमा ग्रहण गर्छन्। दोस्रो दिन अर्थात् मार्च २३ सोमबार ‘खरना’ पर्व मनाइन्छ, जसमा व्रतालुहरू दिनभर निराहार बसी साँझ पूजा गरेर गुड, दूध र चामलबाट बनेको खीर प्रसादका रूपमा लिन्छन् र त्यसपछि ३६ घण्टाको निर्जला उपवास सुरु हुन्छ।
तेस्रो दिन मार्च २४ मंगलबार व्रतालुहरूले अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य अर्पण गर्छन् भने चौथो दिन मार्च २५ बुधबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि व्रतको पारण गरी चार दिने अनुष्ठान सम्पन्न गरिन्छ।


टिप्पणी