पञ्चगावा — राहदानी विभागले नयाँ प्रणालीमार्फत राहदानी जारी गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। विभागले राहदानी खरिदका लागि नयाँ आपूर्तिकर्तासँग सम्झौता गरिसकेको र नयाँ प्रणाली, राहदानी पुस्तिका तथा आवश्यक पूर्वतयारी पूरा भइसकेको जानकारी दिएको छ।
विभागका अनुसार हाल सञ्चालनमा रहेको प्रणालीलाई आगामी एकदेखि दुई महिनाभित्र नयाँ प्रणालीमा रूपान्तरण गरिनेछ। यस क्रममा प्रणाली पूर्ण रूपमा स्थिर नभएसम्म अन्तरिम अवस्थाका कारण केही समयका लागि राहदानी सेवा प्रभावित हुन सक्ने सम्भावना रहेको बताइएको छ।
बिहीबार जारी गरिएको सूचनाअनुसार जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन हप्तासम्म बन्द हुन सक्नेछ। त्यस्तै राहदानी विभागबाट प्रदान गरिने सेवा करिब एक हप्तासम्म बन्द हुन सक्ने जनाइएको छ।
नयाँ प्रणाली कार्यान्वयनपछि पूर्ण रूपमा स्थिर हुन एकदेखि तीन महिना लाग्न सक्ने भएकाले उक्त अवधिमा जिल्ला तथा इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिँदा राहदानी तयार भएर जारी हुन हालको भन्दा बढी समय लाग्न सक्ने विभागले जनाएको छ।
यस अवस्थालाई ध्यानमा राख्दै आगामी ६ महिनाभित्र राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई अन्तरिम अवस्था सुरु हुनु अघि नै सम्बन्धित जिल्ला वा इलाका प्रशासन कार्यालय, विदेशस्थित नेपाली नियोग वा राहदानी विभागबाट सेवा लिन विभागले आग्रह गरेको छ।
नयाँ प्रणाली लागू हुने मिति तथा अन्तरिम अवधिमा अपनाइने व्यवस्थाबारे थप जानकारी अर्को सूचना मार्फत सार्वजनिक गरिने विभागले जनाएको छ।


टिप्पणी