पर्सा, ३ चैत — पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिकाले सञ्चालनमा ल्याएको ‘स्वच्छ चुल्हो’ प्रवर्द्धन कार्यक्रमप्रति स्थानीय जनस्तरबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ। गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरी र प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताको नेतृत्वमा अघि बढाइएको यो पहललाई जनमुखी, प्रभावकारी र दूरदर्शी कार्यक्रमका रूपमा लिइएको छ।
एलपी ग्यासको अभाव तथा निरन्तर मूल्यवृद्धिले जनजीवन प्रभावित भइरहेका बेला गाउँपालिकाले वैकल्पिक ऊर्जा प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरेको हो। कार्यक्रमअन्तर्गत विद्युतिय चुल्हो, सुधारिएको चुल्हो र बायोग्यास प्रविधि अनुदानमार्फत वितरण गर्ने योजना अघि बढाइएको छ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा सञ्चालन हुने यस योजनाले वातावरण संरक्षणसँगै सस्तो, सुरक्षित र सहज खाना पकाउने विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ।
स्थानीय बासिन्दाहरूले ग्यास अभावबाट उत्पन्न समस्या समाधान गर्न यो कार्यक्रम उपयोगी हुने बताएका छन्। विशेषगरी महिला, दलित, जनजाति तथा न्यून आय भएका परिवारलाई प्राथमिकतामा राखिएकोले सामाजिक समावेशिता र समान पहुँच सुनिश्चित हुने विश्वास गरिएको छ।
गाउँपालिका अध्यक्ष चौधरीले वैकल्पिक ऊर्जाको प्रयोग विस्तार गर्दै नागरिकलाई राहत पुर्याउने लक्ष्यका साथ कार्यक्रम ल्याइएको बताए। प्रमुख प्रशासकीय अधिकृत मेहताका अनुसार उपभोक्ता विवरण संकलन कार्य सुरु भइसकेको छ र छिट्टै वितरण प्रक्रिया अघि बढाइनेछ।
स्थानीयवासीले गाउँपालिकाको दिगो विकासप्रतिको प्रतिबद्धता, योजनाबद्ध कार्यशैली र सेवा प्रवाहप्रति खुलेर प्रशंसा गरेका छन्। उनीहरूका अनुसार यस कार्यक्रमले ऊर्जा संकट समाधानसँगै वातावरण संरक्षण, आर्थिक बचत र जनस्वास्थ्य सुधारमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। गाउँपालिकाले आगामी दिनमा यस्ता वातावरणमैत्री र जनमुखी कार्यक्रमलाई अझ विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।


टिप्पणी