वीरगञ्ज — पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामाकान्त चौरसियाले वीरगञ्जस्थित मानव सेवा आश्रमलाई वार्षिक ५१ हजार रुपैयाँ नगद सहयोग गर्ने घोषणा गरेका छन्।
साथै, आश्रमको निर्माणाधीन भवनका लागि २ सय बोरा सिमेन्ट सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बुद्धि प्रसाद पन्त (हरि) लाई स्वागत तथा सम्मान गर्न आश्रममा आयोजित कार्यक्रममा उक्त सहयोग घोषणा गरिएको हो। सांसद चौरसियाले आफू भविष्यमा पदमा नरहे पनि वार्षिक ५१ हजार रुपैयाँ सहयोग निरन्तर जारी राख्न आफ्ना छोरालाई आग्रह गरेका छन्। कार्यक्रममा बोल्दै दुवै सांसदले मानव सेवा सबैभन्दा पुण्यको कार्य भएको उल्लेख गर्दै मानव सेवा आश्रम मन्दिरभन्दा पनि पवित्र स्थल भएको धारणा व्यक्त गरे। त्यसैगरी, सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वाटर पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीले आश्रमका लागि आवश्यक सहयोग गर्न सधैं तयार रहेको बताए। आश्रमका संरक्षक डा. दीपक शाक्यले आश्रम ‘मुठीदान’को सहयोगबाट सञ्चालन भइरहेको उल्लेख गर्दै सरकारले नीतिगत रूपमा सञ्चालन खर्चको व्यवस्था गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमका क्रममा सांसदहरू र सेन्ट जेभियर्स स्कुलका विद्यार्थीहरूले आश्रममा आश्रित करिब ५० जनालाई भोजन सेवा पनि प्रदान गरेका थिए। आश्रमका संस्थापक देवेश गुप्ताका अनुसार यसअघि पनि पर्साका विभिन्न क्षेत्रबाट निर्वाचित सांसदहरूलाई आश्रममा स्वागत तथा सम्मान गरिएको थियो। मानव सेवा आश्रम वीरगञ्ज शाखाले विगत ९ वर्षदेखि सडकमा अलपत्र परेका सहयोगापेक्षी व्यक्तिहरूलाई खाना, कपडा, आश्रय र स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको छ। स्वास्थ्य अवस्था सुधार भएपछि केहीलाई परिवारसँग पुनर्मिलन गराउने कार्य पनि भइरहेको सामाजिक अभियन्ता प्रकाश थारुले बताए।


टिप्पणी