पर्सा — कालिकामाई युवा समाजको आयोजनामा तथा इलाका प्रहरी कार्यालय पोखरियाको सहकार्यमा “लागू औषध विरुद्ध जनचेतना अभियान” सम्बन्धी कार्यक्रम शुक्रबार कालिकामाई गाउँपालिका वडा नम्बर १ मुडलीमा सम्पन्न भएको छ।
मुडलीस्थित श्री जनता माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदिप पौडेलले लागू औषधका जोखिम, त्यसले युवामा पार्ने असर तथा यससम्बन्धी कानुनी व्यवस्थाबारे प्रशिक्षण दिएका थिए। उनले विद्यार्थीहरूलाई लागू औषध सेवनले स्वास्थ्य, परिवार र समाजमा पार्ने नकारात्मक प्रभावबारे जानकारी गराउँदै त्यसबाट टाढा रहन आग्रह गरे।
कार्यक्रममा कक्षा ७, ८, ९, १० र १२ मा अध्ययनरत विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रशिक्षणका क्रममा लागू औषध दुर्व्यसनबाट बच्ने उपाय तथा सचेत नागरिकको भूमिकाबारे पनि जानकारी दिइएको थियो।
कालिकामाई युवा समाजका अध्यक्ष आकाश चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कालिकामाई गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष लालबाबु प्रसाद चौरसिया, शिक्षक देव बहादुर डाँगी, पप्पु पासवान, सुधन गहतराज, सुदिप चौरसिया, आकाश महतो केवट, विकास पटेल, जितेन्द्र कुशवाहा र कृष्णा चौरसिया लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले लागू औषध दुर्व्यसन समाजका लागि गम्भीर चुनौती बनेको उल्लेख गर्दै यस्ता जनचेतनामूलक कार्यक्रमले विद्यार्थी तथा युवालाई सकारात्मक मार्गतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरे। आगामी दिनमा यस्तै कार्यक्रम अन्य विद्यालयहरूमा पनि सञ्चालन गरिने कालिकामाई युवा समाजका अध्यक्ष चौरसियाले जानकारी दिए।


टिप्पणी